समाचार

चिसो याममा पनि ढोरपाटनमा बढ्दै पर्यटकको चहलपहल



बागलुङ । यतिबेला ढोरपाटन क्षेत्रमा अत्यधिक चिसो बढेको छ। बिहानपख धारामा पानी जम्ने र बाक्लो तुसारोले हिँडडुल गर्नसमेत कठिनाइ हुने गरेको छ। चिसो बढेसँगै स्थानीय बासिन्दा बेँसी झरेका छन् भने अस्थायी रूपमा बसोबास गर्ने र व्यवसायीहरू मात्र ढोरपाटनमा रहेका छन्।

पाँच वर्षअघिसम्म हिउँद याममा ढोरपाटन प्रायः सुनसान हुन्थ्यो। तर यस वर्ष चिसो मौसमका बाबजुद पनि पर्यटकको चहलपहल देखिएको छ। बाह्रै महिना प्राकृतिक सौन्दर्यमा कमी नआउने भएकाले ढोरपाटन पर्यटकको रोजाइमा पर्न थालेको स्थानीय व्यवसायी बताउँछन्।

गत वर्ष पनि यही समयसम्म ढोरपाटन सुनसान थियो। मङ्सिरको अन्तिम सातासम्म मात्र पर्यटक आउने र चैतसम्म क्षेत्र सुनसान रहने अवस्था थियो। तर यस वर्ष जाडो याममै पर्यटक आउन थालेपछि होटल व्यवसायी उत्साहित भएका छन्। ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन अदैका अनुसार अघिल्ला वर्षमा करिब चार महिना होटल बन्द हुने गरे पनि यसपालि एक दिन पनि होटल खाली बस्नुपरेको छैन।

पछिल्लो पाँच वर्षमा ढोरपाटन आउने पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेको र हिउँद याममा समेत पर्यटकको चहलपहल पहिलोपटक देखिएको अध्यक्ष अदैले बताए। उनका अनुसार शुक्रबार र शनिबार करिब दुई सय तथा अन्य दिनमा ३० देखि ५० जना पर्यटक ढोरपाटन आउने गरेका छन्। तीव्र प्रचारप्रसारका कारण बुटवल, पोखरा, काठमाडौँ, चितवन, भैरहवा लगायत देशका विभिन्न स्थानबाट पर्यटक आउन थालेका छन्।

प्रकाशित : २ माघ २०८२, शुक्रबार, ,