काठमाडौँ । नेपाली सेनाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यापर्ण गर्दै उनीप्रति सम्मान प्रकट गरेको छ।
सैनिक मुख्यालय, जङ्गी अड्डा परिसरमा रहेको सालिकमा प्रधानसेनापति अशोकराज सिग्देलले पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरे। यस अवसरमा सेनाको एक टुकडीले उनको सम्मानमा सलामी अर्पण गरेको थियो। त्यस्तै, पूर्व प्रधानसेनापति रथीवृन्द र सकल दर्जाले समेत सालिकमा माल्यापर्ण गरी सलामी अर्पण गरेका थिए ।
उक्त कार्यक्रममा ३०४औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने क्रममा नेपाल एकीकरणको समयमा प्रयोग भएको गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्राको विशेष समारोहस्थलमा समापन गरिएको थियो। पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनाका प्रारम्भिक पाँच कम्पनी (श्रीनाथ, कालीबक्स, बर्दवाणी, पुरानो गोरख, सबुज) का झण्डा, टर्च तथा गोरखामा तैनाथ श्री रुद्रध्वज गणबाट ऐतिहासिक सैनिक पोशाक र परम्परागत बाजागाजासहितको टोली उपस्थित थियो।

यस पदयात्रा हरेक वर्ष आयोजना हुँदै आएको छ र यस वर्ष पुस २१ गते गोरखा दरबारबाट शुभारम्भ भएको थियो। सो अवसरमा जङ्गी अड्डामा राष्ट्रनिर्माताको योगदानसम्बन्धी प्रवचन, लघु नाटक, वृत्तचित्र प्रदर्शनी, कविता प्रतियोगिता लगायतका कार्यक्रम पनि आयोजना गरिएको थियो।
सैन्य जनसम्पर्क तथा सूचना निर्देशनाका अनुसार, पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसलाई भव्य रूपमा मनाउन नेपालभर र विदेशमा तैनाथ नेपाली सेनाका विभिन्न एकाइमा विविध कार्यक्रम सञ्चालन गरिएका छन्। प्रत्येक वर्ष पुस २७ गते यो दिवस मनाउने परम्परा रहेको छ।























प्रतिक्रिया