समाचार

थाङपालधाप साना किसान कृषि सहकारी संस्थाको सातौं साधारणसभा सम्पन्न



थाङपालधाप साना किसान कृषि सहकारी संस्थाको सातौं साधारणसभा पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ६ टारमा सम्पन्न भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाको प्रमुख आतिथ्यमा गाउँपालिका सभाहलमा साधारणसभा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लामाले सहकारी भनेको किसानहरुको बैंक भएकाले यसको छुट्टै महत्त्व रहेको बताउनुभयो ।
अध्यक्ष लामाले सदस्यहरुको वृद्धि विकासमा जोड दिनुनै सहकारीको मुख्य उदेश्य रहेकाले सहकारीलाई आफ्नो मुल्य, मान्यता र विधिमा चलाउन आग्रह गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि लामाले सदस्य हरुको छोराछोरीको पठनपाठन लगायत क्षमता र नेतृत्व विकासमा समेत ध्यान दिन आग्रह गर्नुभयो । देशमा ठुला ठुला सहकारीहरु विधिमा नचलेकै कारण अहिले डुबेको समाचारहरु आइरहेको भन्दै सहकारीलाई विधिमा चलाउन आग्रह गर्नुभयो ।
गाउँपालिका भरि किसानले उत्पादन गरेका वस्तुको संकलन गरि ढुवानी गर्न पालिकाले सहजिकरण गर्ने भन्दै किसानलाई ब्यबशायीक बन्न आग्रह गर्नुभयो । कार्यक्रममा सल्लाहकार समितिका संयोजक माधव पाण्डेले सहकारीमा लगानी गरिसके पछि सहकारीले के गर्दै छ र के के मा लगानी गर्यो भनेर विशेष चासो दिन सुझाउनुभयो । हामीले हाम्रो लागी र हामि द्वारानै संचालित हुनेभएकाले पनि सहकारी संस्थाको लोकप्रियता रहेको उहाँले बताउनुभयो । राज्यको ३ खम्बे अर्थनीति अनुसार सहकारी पनि एउटा खम्बा भएकाले समुदायमा आधारित कार्यक्रमहरु संचालन गर्नका लागी र समुदायलाई समृद्ध बनाउनका लागी सहकारीको भुमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीले महिलाहरुलाई ऋण नै नपत्याउने समाजमा सहकारीले अहिले आत्मनिर्भर बनाउन सहयोग गरेको बताउनुभयो । उहाँले गाउँपालिकामा रहेका सहकारीहरु मध्य यस सहकारी अब्बल रहेको भन्दै सेवा प्रवाहगर्दा अझै सहज र व्यवशाय मुखी सेवा प्रवाहमा ध्यान दिनुपर्ने बताउनुभयो ।
सहकारीका पूर्व अध्यक्ष शिशिर वाइबाले सहकारीका शेयर सदस्यले कुनै योजना बनाएर आएमा सहकारीले लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले ठुलो संघर्ष बाट सहकारी यो स्थान सम्म आएको भन्दै अझै मिहेनत गर्नपर्नेमा जोड दिनुभयो । सकारात्मक सोच र सकारात्मक दृष्टिकोण बाट हेरेमा हरेका ठाउँमा अनेक संभावना देखिने भन्दै वाइबाले ज्ञान सिपको आवश्यक परेमा संस्थालाई सुझाव दिन आग्रह गर्नुभयो । जिल्ला सहकारी सघं सिन्धुपाल्चोकका अध्यक्ष मित्रलाल चौलागाईंले सहकारी मार्फत समतामूलक समाज निर्माणमा बल पुग्ने बताउनुभयो । उहाँले सहकारी बाट ऋण लिएर ढुक्क सँग लगानी गर्न समेत आग्रह गर्नुभयो । आफुले पाउने लाभांश,आफुले गरेको बचत,लगानी लगायतका बारेमा सधैं चासो राख्न सुझाव दिदैं चौलागाईंले ब्यबशायीक बन्नका लागी सहकारी बाट ऋण लिन सुझाउनुभयो ।
कृषिमा अत्यधिक व्यक्ति संलग्न रहे पनि हाम्रो परम्परागत निर्वाहमुखी खेतीका कारण फाइदा लिनु पर्ने वर्गले फाइदा लिन नसकेको उहाँले जिकिर गर्नुभयो । कार्यक्रममा वडा नम्बर ६का वडा अध्यक्ष नारायण भट्टराई,सहकारी शाखाका प्रमुख धूर्व लामिछाने, लगायतले सहकारीको संख्या भन्दापनि सहकारीले दिने सेवालाई गुणस्तरीय कसरी बनाउने भन्ने बिषयमा गाउँपलिका केन्द्रित रहेको बताउनुभयो । कुनै समस्या,गुनासा भए यस्तै साधारणसभामा राखेर छलफल गरि दिशानिर्देश गरेर अगाडि बढ्नुपर्ने उहाँहरुको भनाई थियो ।
कार्यक्रममा असल ऋणि,असल बचतकर्ता, बाल बचतकर्ता लगायतलाई सम्मान गरिएको थियो भने शेयर लाभांस वितरण गरिएको थियो । कार्यक्रममा कलाकार हरि थापा,गिता तामाङ लगायतले आफ्नो प्रस्तुति प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थाको आगामी कार्यक्रम सहकारीका अध्यक्ष बाबुराम पौडेलले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन सहकारीकी प्रबन्धक प्रतिज्ञा पौडेलले प्रस्ततु गर्नुभएको थियो । ७२८ शेयर सदस्य रहेको सहकारीको नगद मौज्दात २ लाख ५ हजार,बैंक मौज्दात १ करोड ३६ लाख,नगदमा १४% शेयर लाभाँश वितरण समेत गरिएको छ ।शेयर लगानी ७ लाख १४ हजार रहेको ५ भने ऋण लगानी ५ करोड १७ लाख रहेको छ । ६ करोड ९७ लाख ७३ हजार सन्तुलित परिक्षण कारोबार रहेको सहकारीको सदस्यहरुलाई व्यवशायिक योजना निमार्ण गरि व्यसायिक गर्न प्रोत्साहन गर्ने, योजना रहेको अध्यक्ष बाबुराम पौडेलले बताउनुभयो

प्रकाशित : ३० कार्तिक २०८२, आइतबार, ,