समाचार

नेकपा (माओवादी केन्द्र)नेकपा (एकीकृत समाजवादी)सहित नौ वाम दलबीच एकता घोषणा हुँदै



काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित नौ वाम दलबीच आज एकता घोषणा हुँदैछ।

एकताका लागि यसअघि सहमति पत्रमा हस्ताक्षर गरिसकेका दलबीच काठमाडौंको भृकुटीमण्डपमा एकता घोषणा सभा आयोजना गरिएको छ।

माओवादी केन्द्रका नेता अग्नि सापकोटाका अनुसार नवगठित पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहनेछ भने चुनाव चिन्ह पाँचकुने तारा रहने सहमति भइसकेको छ। आइतबार माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनता समाजवादी पार्टी (जसपा), नेकपा (माओवादी–समाजवादी), नेकपा (साम्यवादी), नेपाल कम्युनिस्ट पार्टी र पछि गोला किराती नेतृत्वको पार्टीबीच गरी नौ दल एकतामा समावेश भएका हुन्।

एकतापूर्व आइतबार नै आठ दलबीच १८ बुँदे सहमति भएको थियो। त्यसमा पार्टी एकता र कम्युनिस्ट आन्दोलनको एकीकरणलाई दीर्घकालीन रूप दिन सहमति गरिएको थियो।

सापकोटाका अनुसार नयाँ पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद रहनेछ भने नेपाली विशेषताको वैज्ञानिक समाजवाद कार्यदिशाका रूपमा लिइनेछ। पार्टीले जनवादी उपलब्धिहरूको रक्षा गर्दै समाजवादको आधार तयार गर्ने नीति लिएको छ।

नवगठित पार्टीको आन्दोलन शान्तिपूर्ण हुने तर आवश्यकताअनुसार सदन, सरकार र सडक सबै मोर्चामा संघर्ष सञ्चालन गर्न सकिने सापकोटाले बताए।

पार्टीको राष्ट्रिय महाधिवेशन ६ महिनाभित्र सम्पन्न गर्ने र सहभागी दलका साविक केन्द्रीय समिति सदस्यहरूलाई आपसी सहमतिका आधारमा नयाँ संरचनामा समायोजन गर्ने निर्णय भएको छ।

संरचनागत रूपमा नयाँ पार्टीमा संयोजक र सह–संयोजक पद मात्र रहनेछ भने केन्द्रीय समिति, राजनीतिक समिति, सचिवालय र कार्यसञ्चालन समिति रहने सापकोटाले जानकारी दिए।

प्रकाशित : १९ कार्तिक २०८२, बुधबार, ,