समाचार

राष्ट्रपति पौडेलले भने हामी संविधान र प्रणाली जोगाउन सफल भयौं



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई युवा पुस्ताको आन्दोलनको उपलब्धि भएको बताएका छन्। उनले यो निर्वाचन सफल बनाउन सबै नेपालीलाई एकजुट भएर सहभागिता जनाउन आह्वान गरे ।

कतारको दोहास्थित नेपाली राजदूतावासमा शुक्रबार आयोजित स्वागत कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले निर्वाचनलाई नेपालको विकास र राष्ट्रिय भाग्यसँग जोडिएको ऐतिहासिक अवसर भएको उल्लेख गरे।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार, उनले लोकतन्त्र, संविधान र प्रणाली जोगाउन युवाको आन्दोलनले महत्वपूर्ण भूमिका खेलेको बताए।

राष्ट्रपति पौडेलले भने, “युवा पुस्ताले भ्रष्टाचार अन्त्य, सुशासन, विकास र युवाहरूको वैदेशिक पलायन रोक्न आन्दोलन गरेका थिए। यो तापमा रोटी सेक्न खोज्नेहरू असफल भए र हामीले प्रणाली जोगाउन सफल भयौं।”

उनका अनुसार, संसारका धेरै देशमा युवाको आन्दोलनले राजनीतिक अस्थिरता ल्याए पनि नेपालमा लोकतान्त्रिक प्रणालीलाई सुरक्षित अवतरण गराउन सकिएको छ।

उनले कतारको विकास, उन्नति र प्रविधिको अनुभवलाई नेपालको विकासमा उपयोग गर्न त्यहाँका नेपाली समुदायलाई आग्रह गरे।
राष्ट्रपति पौडेल कतारमा यही कात्तिक १८ देखि २० गतेसम्म हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी हुन प्रथम महिला सबिता पौडेलसहितको नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दोहा पुगेका हुन् ।

कतारका लागि नेपालका राजदूत रमेशचन्द्र पौडेल, उच्चपदस्थ कर्मचारी र गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिले विमानस्थलमा उहाँलाई स्वागत गरेका थिए।

राष्ट्रपति पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई कात्तिक १८ गते सम्बोधन गर्ने र त्यस अवसरमा कतारका अमिर शेख तमिम बिन हमद अल थानी तथा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

सन् १९९५ मा पहिलोपटक डेनमार्कको कोपनहेगनमा सम्पन्न भएको उक्त सम्मेलनमा यसपटक विकासको असमानता, जनसङ्ख्यागत असन्तुलन र प्रविधिको प्रभाव विषयमा छलफल हुने जनाइएको छ।

राष्ट्रपति पौडेल कात्तिक २० गते कतार भ्रमण पूरा गरी स्वदेश फर्किने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रकाशित : १८ कार्तिक २०८२, मंगलबार, ,