काठमाडौँ । दसैँ नजिकिएसँगै राजधानी काठमाडौँ सुनसान बन्दै गएको छ । वर्षभरि रोजगारी, अध्ययन र व्यापारका लागि उपत्यकामा बस्ने धेरैजसो मानिस आफ्ना गाउँ फर्किएपछि सडकमा देखिने सवारी चाप करिब ४० देखि ५० प्रतिशतले घटेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सार्वजनिक सवारीसाधनमा यात्रुको भीड घट्दै गएको छ भने राजधानीका मुख्य सडकहरू विगतमा भन्दा खाली देखिन्छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार दसैँका कारण उपत्यका खाली देखिए पनि ट्राफिक सुरक्षा कायम राख्न प्रहरी उच्च सतर्कतामा खटिएको छ ।
दसैँको आगमनसँगै गाउँघर भने जीवन्त र रमाइलो बन्दै गएका छन् । घरआँगनमा टिका–जमरा छर्ने तयारी, धार्मिक परम्परा अनुसारको पूजापाठ र परिवारबीच पुनर्मिलनका दृश्य सामाजिक सञ्जालमा प्रशस्त देखिन थालेका छन् । विदेश वा शहरमा बस्नेहरू गाउँ फर्किएपछि अभिभावक, दाजुभाइ, दिदीबहिनी र नातागोताबीच भेटघाटले उत्सवलाई अझ भावनात्मक बनाएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार घटस्थापनादेखि मंगलबारसम्मको आठ दिनमा मात्रै पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौँ उपत्यका छाडेका छन् ।
राजधानी शान्त हुँदै गर्दा गाउँघरमा भने दसैँको उल्लास चुलिँदै गएको छ । यस अवसरलाई परिवारसँग बिताउने, बाल्यकालका सम्झनालाई पुनःजीवन्त बनाउने र समाजमा मेलमिलाप बढाउने पर्वका रूपमा नेपालीहरूले आत्मसात् गर्दै आएका छन् ।























प्रतिक्रिया