शिक्षा

निजामती सेवा दिवस : आइतबार देशभर विभिन्न कार्यक्रमसहित मनाइँदै



काठमाडौँ । मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीले भोलि आइतबार देशभर विभिन्न कार्यक्रमका साथ निजामती सेवा दिवस मनाउने भएका छन् ।

विसं २०१२ साल भदौ २२ गते पहिलोपटक जारी भएको निजामती सेवासम्बन्धी ऐनको स्मरण गर्दै हरेक वर्ष यो दिवस मनाइँदै आएको हो । यस अवसरमा कर्मचारीहरूले सेवाभाव, निष्ठा, आदर्श, नैतिकता र सदाचारप्रति प्रतिवद्धता व्यक्त गर्ने दिनका रूपमा यसलाई लिइने गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रकाश दाहालका अनुसार करिब ८५ हजार निजामती कर्मचारीका लागि यो दिवस ठूलो उत्सव र आत्ममूल्याङ्कनको दिन हो ।

मुख्यसचिवको अध्यक्षतामा गठित मूल समारोह समितिअन्तर्गत स्वास्थ्य शिविर, वृक्षरोपण, रक्तदान, मैत्रीपूर्ण फुटबल, अन्तक्र्रिया, झाँकी प्रदर्शनी, र्‍याली, दीपावलीलगायत कार्यक्रम हुनेछन् । राजधानीमा हुने मूल समारोहमा प्रधानमन्त्री प्रमुख अतिथि रहनेछन् ।

समारोहमा वर्षभर उत्कृष्ट कार्य प्रदर्शन गर्ने कर्मचारीलाई पुरस्कार प्रदान गरिनेछ । यस वर्ष एक जना सर्वोत्कृष्ट निजामती, १० जना उत्कृष्ट निजामती, र ३० जना निजामती पुरस्कार विजेताको घोषणा हुनेछ । अघिल्लो वर्ष छनोट भएका कर्मचारीलाई पनि प्रमुख अतिथिबाट प्रमाणपत्र र पुरस्कार दिइनेछ ।

सहसचिव दाहालका अनुसार केही कर्मचारीले भ्रष्टाचार र ढिलासुस्तीका कारण आलोचना खेपिरहेका भए पनि समग्र सेवाप्रति गलत धारणालाई सच्याउन आवश्यक छ । जनताले सेवालाई सहज, पारदर्शी र प्रविधिमैत्री रूपमा पाउनुपर्नेमा जोड दिँदै उनले “निजामती कर्मचारीलाई शासक होइन, सेवकका रूपमा हेर्ने दृष्टिकोण बढाउन जरुरी छ” भने ।

निजामती सेवामा राजनीतिक आग्रह–पूर्वाग्रहका आधारमा हुने सरुवा, बढुवा र अवसर वितरणले सक्षम कर्मचारी ओझेलमा पर्न सक्ने गुनासो पनि रहेको छ ।

विशेषज्ञहरूका अनुसार काविल प्रशासन बिना राजनीति सफल हुन सक्दैन । त्यसैले राजनीति र प्रशासनबीच सहकार्य र सुमधुर सम्बन्ध अहिलेको आवश्यकता रहेको उनीहरूको भनाइ छ । हाल निजामती सेवाका राष्ट्र सेवकहरू संघ, प्रदेश र स्थानीय तहमा विभाजित भई कार्यरत छन् ।

यसरी निजामती सेवा दिवसलाई राष्ट्र र जनताप्रति असल काम गर्ने संकल्प दोहोर्याउने दिनका रूपमा लिइएको छ ।

 

प्रकाशित : २१ भाद्र २०८२, शनिबार, ,