देश / प्रदेश

पुर्खाले देखाएको बाटो एवं कृषिप्रधान देशको अबको मार्ग



नेपाली हामी साह्रै भाग्यमानी छौं। प्रकृतिले हाम्रो देशलाई धेरैथोक दिएको छ। परिवर्तित समय अनुसार हामी हिंड्न भने जानेनौं र शासकहरूले पनि समृद्धिको बाटो समात्न जानेनन्। तर पनि हाम्रा पुर्खाहरूले लामो जीवन भोगाइका क्रममा प्राप्त अनुभव र ज्ञान समेटेर पछिल्ला पुस्ताका लागि जीवन उपयोगी खुराकका रूपमा थुप्रै उखान-टुक्काहरू छाडेर गएका छन्। तीमध्ये कृषि पेसाको महत्त्वमा प्रकाश पार्न बनाइएको एउटा उखान थियो “उत्तम खेती, मध्यम व्यापार, अधम जागिर”। हाम्रा पुर्खाले यो उखान हचुवाका भरमा बनाएका थिएनन्।

जीवनको लामो अनुभव समेटेर बनाएका थिए। उनीहरूले देखाएको बाटो सही थियो। त्यो बाटो परित्याग गरेकाले आज हामी आर्थिक रूपमा पछि परेका हौं। पुर्खाले देखाएको बाटो अपनाएर कृषिलाई प्राथमिकता दिएको भए हामी आज विकासोन्मुख देशहरूमध्ये पनि सबैभन्दा गरिबको सूचीमा पर्ने थिएनौं।

बरु, हाम्रा पुर्खाहरूले खेतीलाई उत्तम मान्नुका बलिया आधार छन्। हाम्रो देश कृषिप्रधान देश हो। भनिन्छ, देशको आयको पहिलो आधार कृषि हो। यसलाई सबैले स्वीकार गरेका छन्। सरकारलाई राजस्व बुझाउने ठूला उद्योगहरू धेरै कृषिमै आधारित छन्।

हामी प्राकृतिक स्रोत र साधनमा धनी छौं। हाम्रो भूबनोट हिमाल, पहाड र तराईमा विभाजित छ। देशको कुल क्षेत्रफलमध्ये १५ प्रतिशत हिमाल, १७ प्रतिशत तराई र ६८ प्रतिशत भाग पहाडी क्षेत्रले ओगटेको छ। यही भौगोलिक विविधताअनुसारको बहुउपयोगी जल, जमीन, जंगल उपलब्ध छन् हामीसँग। त्यसैले त हिमाली र पहाडी भेगमा आर्युवेदिक औषधिको रूपमा प्रयोग हुने जडिबुटीदेखि औषधीय गुण भएका जौ, फापर, कोदो, आलु, मकै, गहुँजस्ता खाद्यान्न पाइन्छ भने स्याउ, सुन्तला, आरु, आलुबखडा, लप्सी जस्ता फलफूलहरू पनि प्रशस्त छन्।

प्रकाशित : १६ मंसिर २०८२, मंगलबार, ,