देश / प्रदेश

मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त



काठमाडौँ । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीलाई नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आइजीपी) मा नियुक्त गरेको छ। कार्तिक २७ गतेदेखि लागू हुनेगरी कार्कीको नियुक्ति गरिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

सोमवार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गरेको छ।

त्यस्तै, भदौ २३ र २४ गतेका घटना सम्बन्धी जाँचबुझ आयोगमा निजामतितर्फ चार र नेपाल प्रहरीतर्फ ११ जना गरी १५ जना कर्मचारी थप गर्ने निर्णय गरिएको छ।

बैठकले कार्तिक २६ देखि २८ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत कोर्डिनेशन बैठकको नवौँ सत्रमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालको संयोजकत्वमा प्रतिनिधि मण्डललाई सहभागी हुन अनुमति दिएको छ।

त्यसैगरी, सरकारले भू–उपयोग तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गरेको र आगामी फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिएको छ।

प्रवक्ता खरेलकाअनुसार, मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गरी सुरेन्द्रलाल कर्णलाई नयाँ प्रदेश प्रमुखमा नियुक्त गरिएको छ।

प्रकाशित : २५ कार्तिक २०८२, मंगलबार, ,