कला / मनोरञ्जन

जनकपुरमा जानकी जन्मोत्सवका औपचारिक कार्यक्रम शुरू



काठमाडौं  – धनुषाको जनकपुरधाममा रहेको जानकी मन्दिरमा जन्मोत्सवका औपचारिक कार्यक्रमहरू शुरू भएका छन् ।

मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासका अनुसार जानकी मन्दिरद्वारा आयोजित कार्यक्रममा आजदेखि हरेक दिन दिउँसो ४ बजे श्रीरामकथा वाचन र बेलुका ७ बजे गर्भगृहमा जानकी जन्म बधाई मङ्गलगान तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिनेछन् । साथै अखण्ड रामायण पाठ पनि नियमित रूपमा जारी रहनेछ ।

जन्मोत्सवको मुख्य दिन वैशाख २३ गते मङ्गलवार बिहान ५ बजे जानकी मन्दिरबाट दूधमती नदीसम्म जानकीको शाही स्नान गरिनेछ । त्यसपछि दिउँसो १२ बजे जन्म आरती तथा बधाई मङ्गलगान, दिउँसो ४ बजे डोला शोभा यात्रा र बेलुका ७ बजे विशेष आरतीसहित दीपोत्सव आयोजना गरिनेछ । जानकी जन्मदेखि छठिहारसम्म हरेक दिन बेलुका ७ बजे मन्दिरको गर्भगृहमा जन्म बधाई गान गाइनेछ ।

मन्दिर व्यवस्थापन समितिका अनुसार वैशाख २४ गते उपासनाका लागि मटकोर कार्यक्रम आयोजना हुनेछ भने वैशाख २५ गते धार्मिक तथा सांस्कृतिक गीतसहित सीताराम विवाह महोत्सव भव्य रूपमा मनाइनेछ ।

प्रकाशित : १८ बैशाख २०८२, बिहिबार, ,