कला / मनोरञ्जन

तीजको तयारी दर खाने दिनसँगै सुरु, महिलाहरू उत्साहपूर्वक पर्व मनाउन व्यस्त



काठमाडौं । नेपाली हिन्दू महिलाहरूले मनाउने महत्वपूर्ण पर्व तीजको तयारी सोमबारदेखि दर खाने दिनसँगै सुरु भएको छ। यो दिनलाई तीजको पहिलो चरण मानिन्छ, जहाँ महिला दिदीबहिनीहरूले विशेष परिकार बनाएर आपसमा दर खाने परम्परा रहिआएको छ।

दर खाने दिनपछि आउने हरितालिका तीजमा निराहार व्रत बस्ने भएकाले अघिल्लो रात महिलाले पौष्टिक परिकार खाने गर्छन्। विवाहित महिलाले पतिको दीर्घायु र समृद्धिको कामना गर्दै, अविवाहित महिलाले सुयोग्य जीवनसाथीको आकांक्षा राखी भोलिपल्ट व्रत बस्ने मान्यता छ।

परम्परागत रूपमा दरमा दूधबाट बनेका मिष्ठान्न—जस्तै खिर, गुँदपाक, हलुवा, ढकनी, दही, घिउ, मिठाइ र सेलरोटी खाने प्रचलन छ। माछामासु भने नखाइ चोखो खानेकुरा मात्रै खाइन्छ। तर आधुनिकतासँगै दरमा खाने परिकारहरूमा पनि विविधता देखिन थालेको छ।

यद्यपि तीज मुख्यतया पहाडी मूलका सनातन हिन्दू महिलाले मनाउने पर्व भए पनि पछिल्लो समय अन्य समुदायका महिलाले पनि उत्साहपूर्वक तीज मनाउन थालेका छन्। राजधानी काठमाडौंसहित विभिन्न स्थानमा दर खाने चलन समय र परम्परा अनुसार फरक–फरक छ। कतै साँझ मात्र दर खाने चलन छ भने कतै राति मध्यरातमा दर खाने परम्परा पाइन्छ। हाल राजधानीमा एक महिना अघिदेखि नै दर खाने कार्यक्रमहरू आयोजना हुने गरेका छन्।

धार्मिक विश्वासअनुसार देवी पार्वतीले भगवान शिवलाई वर पाउन कठोर निराहार व्रत बसेकी थिइन्। अन्ततः उनको मनोकामना पूरा भएपछि यस परम्परालाई तीजसँग जोडिएको मानिन्छ। त्यसैले आज पनि महिलाले उत्तम पति प्राप्ति तथा पतिको दीर्घायु, स्वास्थ्य र प्रगतिको कामना गर्दै हरितालिका तीजमा निराहार व्रत बस्ने परम्परा निरन्तर रहिआएको छ।

प्रकाशित : ९ भाद्र २०८२, सोमबार, ,