काठमाडौँ,७ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको नवौँ बैठकले पार्टीको विधान संशोधनसम्बन्धी प्रस्तावलाई सुझावसहित सर्वसम्मतिले पारित गरको छ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा यही साउन ५ र ६ गते बसेको बैठकले मुलुकको समसामयिक राजनीतिक गतिविधि, सरकारको प्रभावकारिता, विधान महाधिवेसनलगायत समसामयिक विषयमा आठबुँदे प्रस्ताव पारित गरको छ ।
यसैगरी, बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई उच्च सम्मान व्यक्त गर्ने निर्णय गरेको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विशेषगरी विधान संशोधनसम्बन्धी प्रस्तावमा घनिभूत छलफल भएको केन्द्रीय कमिटीको बैठकमा २६४ जना सदस्यहरूले आ–आफ्नो धारणा राख्नुभएको र बैठकले आठबुँदे प्रस्ताव पारित गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले मुलुकको समसामयिक राजनीतिक विकासक्रम, पार्टीलाई अझ सशक्त र लोकप्रिय बनाउने,विधान महाधिवेशनलगायत विषयमा धारणा राख्नुभएको थियो ।
यसैगरी, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष प्रा डा पुष्प कँडेल र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले आ–आफ्नो आयोगको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो भने महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक कामका बारेमा जानकारी गराउनुभएको थियो ।
केन्द्रीय कमिटीका सदस्यहरूबाट प्राप्त सुझावहरूलाई समावेश गरी विधान संशोधनसम्बन्धी प्रस्ताव पार्टीको प्रदेश र जिल्ला कमिटीहरूमा थप सुझावका लागि पठाइने निर्णय भएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो ।
सो बैठकले एमाले र नेपाली कांग्रेसबीच सम्पन्न सातबुँदे सहमतिको जगमा उभिएर पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको नेतृत्वमा बनेको वर्तमान सरकारले बलियो राजनीतिक स्थायित्वको आधार तयार गरी सुशासनसहित देश र जनताका पक्षमा काम गरको ठहर गरेको छ ।























प्रतिक्रिया