काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा लसुनको आयात मात्रै दुई गुणाले बढेको छ । एक वर्षको अवधिमा ६ अर्ब ७० करोड बराबरका ५ करोड ७ लाख ९३ हजार किलोग्राम लसुन आयात भएको भन्सार विभागको तथ्याङ्क छ ।
यसबापत मात्रै भन्सारले १ अर्ब ७२ करोड रुपैयाँ कर सङ्कलन गरेको छ । आएको मध्ये लगभग सबै आयात चीनबाट नै भएको छ । अघिल्लो आर्थिक वर्षमा सोही वस्तुको आयात २ अर्ब २२ करोड रुपैयाँ बराबरको १ करोड ७० लाख किलोग्राम आयात भएको थियो ।
सो आयातबाट ५७ करोड रुपैयाँ बराबरको राजश्व सङ्कलन भएको थियो । यो वर्ष आयात लागत, परिमाण तथा राजस्व सबै करिब २०० प्रतिशतले बढेको देखिन्छ ।नेपालमा अहिले करिब सवा २ करोड जनसङ्ख्या रहेको अनुमान छ । अहिले नेपालमा नै झन्डै ७५ हजार मेट्रिकटन (साढे ७ करोड किलोग्राम) लसुन फल्ने अनुमान गरिएको छ ।
यो हिसाबले एक जनाले वर्षमा झन्डै ३ किलो लसुन उपभोग गर्न नेपालकै उत्पादनले पुग्ने देखिन्छ । तर, त्यतिले मात्रै नपुगेर अहिले ५ करोड किलोभन्दा धेरै आयात भएको देखिन्छ । यो खपत गर्न नेपालको जनसङ्ख्याले वार्षिक औसत ५ किलोग्राम लसुन खानुपर्छ ।
तर, विश्वको औसत अवस्था हेर्दा एक जना व्यक्तिलाई १ देखि २ किलोग्राम लसुन उपभोग गर्ने गरेको छ । नेपालमा औसतभन्दा केही धेरै प्रयोग हुने गरे ५ किलोसम्म पुग्दैन । यसले गर्दा यो आयातलाई स्वाभाविक मान्न सक्ने अवस्था देखिँदैन ।
किन बढ्यो आयात ?
अहिले नेपालमा लसुनको भन्सार दर १० प्रतिशत मात्रै रहेको छ । त्यसमा भ्याट जोड्दा पनि जम्मा करिब २५ प्रतिशत हाराहारीमा मात्रै हुन आउँछ ।
भारतमा भने लसुनको भन्सार दर नै १०० प्रतिशत तोकिएको छ । त्यसैले नेपालको सस्तो दरको फाइदा उठाएर भारततर्फ तस्करी गर्न आयात गरिएको देखिएको छ ।
तर, आधिकारिक च्यानलबाट भारतमा लसुनको निर्यात भएको भने देखिँदैन । आधिकारिक च्यानलबाटै निर्यात गर्दा पनि नेपालले शून्य भन्सारको सुविधा प्राप्त गर्ने अवस्था भए पनि भारतले कडाइ गर्न सक्ने डरले अवैध च्यानलबाट निर्यात भएको हुनसक्ने भन्सारका अधिकारीको आशङ्का छ ।























प्रतिक्रिया