काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा पुनरावलोकनका लागि जाने निर्णय गरेको छ।
गत चैत १५ गते तिनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा प्रसाईँ काठमाडौं जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा राखिएका थिए। तर, सोमबार उच्च अदालत पाटनले तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।
उक्त आदेश मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ विपरित भएको ठहर गर्दै महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा आदेश बदरको माग गर्दै जाने तयारी गरेको हो।
महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सहन्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीका अनुसार, “उच्च अदालतको आदेशमा गम्भीर कानुनी त्रुटि देखिएकोले आदेश खारेज गरी प्रसाईँलाई पुनः थुनामै राखी पुर्पक्ष गर्न माग गर्दै सर्वोच्चमा निवेदन दिने निर्णय गरिएको हो।”
यस मुद्दामा अब सर्वोच्च अदालतले के निर्णय लिन्छ भन्नेमा आम चासो केन्द्रित हुने देखिएको छ।























प्रतिक्रिया