अन्तरराष्ट्रिय

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ झन्डै ५ प्रतिशतले घट्यो



न्यूयोर्क । मंगलबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ झन्डै ५ प्रतिशतले घटेको छ । झन्डै दुई हप्तादेखिको द्वन्द्वपछि इरानले इजरायलसँगको युद्धमा विराम लगाउने सहमति गरेको समाचारपछि मंगलबार तेलको भाउ घटेको समाचारमा जनाइएको छ ।

मंगलबार लन्डनको आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा ब्रेनट क्रुडको भाउ प्रतिब्यारेल ६८ डलरमा आएको छ । यो भनेको जुन १३ मा इजरायलले इरानको परमाणु केन्द्रलाई निशाना बनाएर मिसाइल प्रहार गर्नु अघिको स्तर भन्दा तल हो ।

इरानले तेल र ग्यास ढुवानीको मुख्य समुद्री बाटो होर्मुज जलडमरु बन्द गरेर विश्वभर तेलको आपूर्तिमा अवरोध उत्पन्न हुने हो कि भन्ने चिन्ताका बिच हालैका दिनमा विश्व बजारमा कच्चा तेलको भाउ बढिरहेको थियो। आजै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  युद्धविरामबारे   घोषणा गरेका थिए ।

यो घोषणा लगत्तै इजरायलले पनि युद्धविरामका लागि आफू सहमत भएको बताएको छ । यो खबरपछि  मंगलबार अमेरिका, युरोप र एसियामा शेयर बजार उकालो लागेको छ ।

युद्धविरामको घोषणासँगै बजार सामान्य स्तरमा फर्किने अपेक्षामा तेलको भाउमा सुधार आएको फिलिप नोभामा वरिष्ठ बजार विश्लेषक प्रियंका सचदेवले बताइन् ।  पछिल्लो पटक घोषणा भएको युद्धविरामको सर्त इजरायल र इरानले कति लामो समयसम्म पालना गर्छन् भन्नेले आगामी दिनमा तेलको भाउ निर्धारणमा उल्लेख्य भूमिका निभाउनेमा उनले बताइन् ।

प्रकाशित : १० असार २०८२, मंगलबार, ,