अन्तरराष्ट्रिय

भारतको उडिसास्थित कलिंगा विश्वविद्यालयमा अर्की नेपाली छात्राको पनि शंकास्पद मृत्यु



काठमाडौं,१९ बैशाख। भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयको छात्रावासमा एक नेपाली छात्रा प्रिशा साह रहस्यमय अवस्थामा मृत फेला परेकी छन् । यो घटनाले तीन महिनाको अवधिमा सोही विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्यु भएपछिको दोस्रो घटना हो ।

विश्वविद्यालयको होस्टलमा झुण्डिएको अवस्थामा फेला परेकी उनी विरगञ्जकी प्रिशा साह भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । उक्त विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुले उनी विरगञ्जमा घर भएकी प्रिसा साह भएको पुष्टि गरेका छन् । विद्यार्थीहरुका अनुसार बिहीवार रातिको घटनापछि विश्वविद्यालयले अन्य विद्यार्थीलाई होस्टलबाट बाहिर सिस्कन दिएको छैन । यो घटनाको थप विवरण आउन बाँकी छ ।

उक्त घटना बाहिरिएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको समाचारमा जनाइएको छ । प्रहरी आयुक्त एस. देवदत्तले घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको पुष्टि गरेका छन् । ‘हामीले भारतस्थित नेपाली दूतावासलाई यस घटनाबारे जानकारी गराएका छौं र शवलाई एआईआईएमएस भुवनेश्वरमा सारिएको छ, उनले भनेका छन् ।

मृतकका आमाबुबा पुगेपछि पोष्टमार्टम प्रक्रिया अघि बढाइने छ, उनले थपे । घटनापछि कमिश्नरेट प्रहरीले किट क्याम्पस वरपरको सुरक्षा कडा बनाएको छ ।

केही महिनाअघि त्यही विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको फेब्रुअरी १६ मा शंकास्पद मृत्यु भएको थियो ।
लम्सालले विश्वविद्यालयको इन्टरनेशनल रिलेसन्स अफिसमा यौन दुर्व्यवहारको उजुरी दिएकी थिइन्, तर कुनै कारबाही नभएको बताइएको छ। राष्ट्रिय मानव अधिकार आयोगले उक्त लापरबाहीलाई ‘गम्भीर बेवास्ता’भनेको थियो ।

लम्सालको मृत्युपछि उत्पन्न असन्तोषका कारण एक हजारभन्दा बढी नेपाली विद्यार्थीहरूलाई अस्थायी रूपमा क्याम्पस खाली गर्न भनिएको थियो । त्यसपछि विश्वविद्यालय र ओडिशा सरकारले सुरक्षा र सहयोगको आश्वासन दिएपछि अधिकांश विद्यार्थीहरू फर्किसकेका छन् ।

प्रकाशित : १९ बैशाख २०८२, शुक्रबार, ,