अन्तरराष्ट्रिय

मध्य इरानमा सेनाको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु



तेहरान- इरानी सेनाको वायु सेनाको हेलिकप्टर मङ्गलबार मध्य प्रान्त इस्फहानको फलफूल बजारमा दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको सरकारी मिडियाले जनाएको छ ।

दुर्घटनामा पाइलट, सह–पाइलट र दुई जना फलफूल व्यापारीको मृत्यु भएको इर्ना समाचार एजेन्सीले जनाएको छ । एजेन्सीका अनुसार दुर्घटनाको कारण “प्राविधिक खराबी“ भएको बताएको छ ।

दुर्घटना इस्फहान प्रान्तको खोमेनिसहर सहरमा भएको पुष्टि गरिएको छ । लगातारको प्रतिबन्ध खेत्दै आएको इरानले पछिल्लो समयमा धेरैवटा हवाई प्रकोपहरूको सामना गरेको छ भने अधिकारीहरूले आफ्ना पुराना जहाजहरूका लागि स्पेयर पार्ट्स प्राप्त गर्न गाह्रो भएको गुनासो गरेका छन् ।

यस अघि पश्चिमी हामेदान प्रान्तमा प्रशिक्षण अभ्यासको क्रममा बिहीबार, एक इरानी लडाकु जेट दुर्घटना ग्रस्त हुदाँ दुई जना पाइलटहरू मध्ये एकको मृत्यु भएको इरानी मिडियाले जनाएका छन् ।

प्रकाशित : १२ फाल्गुन २०८२, मंगलबार, ,