एजेन्सी । अमेरिकाले भेनेजुयलामा सैन्य आक्रमण गरी राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरिएको दाबी गरेपछि विश्वभरबाट समर्थन र विरोधका प्रतिक्रिया आउन थालेका छन्। अचानक विकसित यस घटनाक्रमले ल्याटिन अमेरिका मात्र नभई विश्व राजनीतिमा समेत गहिरो प्रभाव पार्ने देखिएको छ।
विशेषगरी भेनेजुयलासँग लामो सीमा साझा गर्ने कोलम्बियामा यसको प्रत्यक्ष असर पर्ने अनुमान गरिएको छ। कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेत्रोले अमेरिकी कारबाहीप्रति गहिरो चिन्ता व्यक्त गर्दै सीमामा सेना तैनाथ गर्न आदेश दिएका छन्। भेनेजुयलाबाट ठूलो सङ्ख्यामा मानिसहरू प्रवेश गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा सतर्कता बढाइएको उनले बताए। कराकसमा विस्फोटको खबर आएदेखि नै पेत्रोले शान्ति र संवादको निरन्तर आह्वान गर्दै आएका छन् ।

संयुक्त राष्ट्रसङ्घले अमेरिकी आक्रमण र राष्ट्रपति मदुरो पक्राउ परेको सूचनाप्रति ‘गम्भीर चिन्ता’ व्यक्त गरेको छ। महासचिवका प्रवक्ता स्टेफन दुजारिकले यस्ता घटनाहरू अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भएको भन्दै खतरनाक नजिर बन्न सक्ने चेतावनी दिएका छन्। संयुक्त राष्ट्रसङ्घले ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रमा पर्न सक्ने व्यापक प्रभावप्रति चिन्ता व्यक्त गर्दै भेनेजुयलाका सबै पक्षलाई मानव अधिकार र विधिको शासनको सम्मान गर्न आग्रह गरेको छ।
युरोपेली सङ्घ (इयू) का विदेश नीति प्रमुख काजा कलासले अमेरिकी विदेशमन्त्री मार्को रुबियो र काराकासस्थित इयू राजदूतसँग सम्पर्क गरी घटनाबारे जानकारी लिएको बताएकाे छ। इयूले मदुरोको वैधानिकतामाथि प्रश्न उठाउँदै आए पनि जस्तोसुकै अवस्थामा अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्रसङ्घको बडापत्रको सम्मान हुनुपर्नेमा जोड दिएको छ र संयम अपनाउन आह्वान गरेको छ।

बेलायती प्रधानमन्त्री किअर स्टार्मरले भेनेजुयलामा भएको अमेरिकी कारबाहीमा बेलायत कुनै पनि रूपमा संलग्न नरहेको स्पष्ट पारे। राष्ट्रपति मदुरो पक्राउ गरिएको विषयमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग आफूले कुरा नगरेको पनि बताए। यसबीच बेलायतका कैयौँ सांसदहरूले उक्त कारबाहीको निन्दा गरिसकेका छन्।
भेनेजुयलाका निकट सहयोगी रुस र क्युबाले अमेरिकी आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्। रुसको विदेश मन्त्रालयले यसलाई ‘सशस्त्र आक्रमण’ भन्दै अत्यन्त चिन्ताजनक भएको जनाएको छ र तत्काल स्पष्टीकरण माग गरेको छ। यदि पुष्टि भएमा यो एक स्वतन्त्र राज्यको सार्वभौमिकतामाथिको अस्वीकार्य उल्लङ्घन हुने चेतावनी दिँदै रुसले आपतकालीन संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद् बैठक बोलाउन समर्थन गरेको छ।
चीनले पनि अमेरिकी कारबाहीको कडा विरोध गरेको छ। चिनियाँ विदेश मन्त्रालयले भेनेजुयलाको सार्वभौमिकतामाथि गम्भीर उल्लङ्घन भएको र यसले क्षेत्रीय शान्ति र सुरक्षालाई खतरामा पारेको बताएको छ। चीनले अमेरिकालाई अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्रसङ्घ बडापत्रका सिद्धान्तहरूको पालना गर्न आग्रह गरेको छ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले तनाव वृद्धि नगर्न जिम्मेवार व्यवहार गर्न आग्रह गर्दै अन्तर्राष्ट्रिय कानूनको सम्मान आवश्यक रहेको बताएका छन्। स्पेनले शान्तिपूर्ण समाधानका लागि मध्यस्थकर्ताको भूमिका खेल्न तयार रहेको पनि जनाएको छ।

यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले मदुरोलाई उनकी पत्नीसहित पक्राउ गरी देश बाहिर निकालिएको दाबी गर्नुभएको छ। भेनेजुयलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रपति मदुरो र प्रथम महिला सिलिया फ्लोरेसको अवस्थाबारे कुनै जानकारी नभएको बताउँदै उनीहरू जीवित रहेको प्रमाण माग गरेका छन् ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ट्रम्पको भनाइ सत्य भएको दाबी गरे। उता, दक्षिण फ्लोरिडामा रहेको ठूलो भेनेजुयला समुदायले मदुरो पक्राउको खबरपछि र्याली निकाल्दै उत्सव मनाएको छ। डोरल शहरमा आयोजित र्यालीमा ‘स्वतन्त्रता! स्वतन्त्रता!’ का नारा गुञ्जिएका थिए।
भेनेजुयलाको पछिल्लो घटनाक्रमले अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा नयाँ तनाव थपेको छ भने यसको अन्तिम परिणाम विश्व समुदायको गहिरो चासोको विषय बनेको छ।























प्रतिक्रिया