अन्तरराष्ट्रिय

आइसिसी लिग–२ : लगातार तीन हारपछि नेपाल आज युएईसँग अन्तिम खेल खेल्दै



काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल आज आफ्नो अन्तिम खेल युएईविरुद्ध खेल्दैछ। पछिल्ला तीन खेलमा लगातार हार बेहोरेको नेपालका लागि आजको खेल प्रतिष्ठा जोगाउने अवसरका रूपमा रहेको छ।

नेपाल र युएईबीचको खेल बिहान सवा ११ बजेबाट सुरु हुनेछ। नेपालले यसअघि अमेरिकासँग दुई खेल र युएईसँग एक खेलमा पराजय व्यहोरेको थियो। शनिबार भएको तेस्रो खेलमा नेपाल अमेरिकासँग चार विकेटले पराजित भएको थियो।

अमेरिकाले भने उत्कृष्ट प्रदर्शन गर्दै लगातार चार खेलमा जित हासिल गरेको छ र २४ खेलबाट ३६ अंकसहित शीर्ष स्थानमा पुगेको छ। युएई १९ खेलमा जम्मा ८ अंकसहित अन्तिम स्थानमा छ।

नेपालको प्रदर्शन यस लिगमा सन्तोषजनक छैन। १९ खेलमा १२ अंक जोड्दै नेपाल सातौं स्थानमा रहेको छ। नेपालले पाँच जित, १२ हार र दुई बराबरी नतिजा निकालेको छ।

यो लिग सन् २०२७ मा दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा हुने एकदिवसीय विश्वकपका लागि छनोटको आधार बनेको छ। शीर्ष चार राष्ट्रले सिधै विश्वकप छनोटको अन्तिम चरणमा प्रवेश गर्नेछन् भने अन्तिम चार स्थानमा रहने टोलीले प्ले–अफ खेल्नुपर्नेछ।

नेपालसहितका एसोसिएट सदस्य राष्ट्रका लागि यो लिग एकदिवसीय मान्यता कायम राख्ने दृष्टिले पनि अत्यन्त महत्वपूर्ण छ। हाल नेपाल, स्कटल्याण्ड, युएई, नेदरल्याण्ड्स, नामिबिया, ओमान, अमेरिका र क्यानडालाई आइसिसीले अस्थायी एकदिवसीय मान्यता दिएको छ, जुन सन् २०२६ को विश्वकप छनोटसम्म कायम रहनेछ।

प्रकाशित : १९ कार्तिक २०८२, बुधबार, ,