काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपाह भाइरसको सम्भावित जोखिमप्रति सचेत रहँदै नागरिकको स्वास्थ्य सुरक्षाका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ । छिमेकी मुलुकमा देखिएका केही घटनालाई ध्यानमा राख्दै आवश्यक पूर्वतयारीका सबै कदम चालिएको स्पष्ट पार्दै मन्त्रालयले सर्वसाधारणलाई आतङ्कित नहुन तर सचेत, सजग र जिम्मेवार बन्न आग्रह गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठन (WHO) ले विश्वव्यापी तथा दक्षिणपूर्वी एसिया क्षेत्रीयस्तरमा निपाह भाइरसको जोखिम न्यून रहेको मूल्याङ्कन गरे पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्कता अपनाइएको मन्त्रालयको भनाइ छ ।
मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका स्वास्थ्य संस्था तथा सरोकारवाला निकायलाई सचेत गराइसकेको र निपाह भाइरसको परीक्षणका लागि आवश्यक तयारी गरिएको जनाएको छ ।
निपाह भाइरस सङ्क्रमित चमेराको ¥याल, पिसाब वा मलमूत्रले दूषित फलफूल सेवन गर्दा, सङ्क्रमित व्यक्तिको रगत, थुक, पिसाब वा नजिकको सम्पर्कबाट तथा चमेरोबाट सुँगुर हुँदै मानिसमा सर्न सक्ने मन्त्रालयले जानकारी दिएको छ ।
संक्रमणबाट बच्न मन्त्रालयले फलफूल राम्ररी पखालेर मात्र खान, तरकारी राम्रोसँग पकाएर खाने, सुरक्षित पानी उमालेर पिउने, जनावरका गोठ तथा फार्म सफा राख्ने, मासु काट्दा पञ्जा र मास्क प्रयोग गर्ने, नियमित रूपमा साबुन पानीले हात धुने तथा भिडभाडमा जाँदा मास्क लगाउन आग्रह गरेको छ ।
ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, चक्कर लाग्ने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, वाकवाकी वा बान्ता हुने, साथै गम्भीर अवस्थामा होस हराउने वा अचेत हुनेजस्ता लक्षण देखिएमा शीघ्र पहिचान गरी आइसोलेसनमा राखी रिपोर्टिङ गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।
शङ्कास्पद लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्था वा १११५ मा तुरुन्त सम्पर्क गर्न आग्रह गर्दै मन्त्रालयले हालसम्म नेपालमा निपाह भाइरसका कुनै पनि घटना पुष्टि नभएको स्पष्ट पारेको छ । स्वास्थ्य निकायहरू जोखिम न्यूनीकरणका लागि पूर्ण तयारी अवस्थामा रहेको पनि मन्त्रालयको भनाइ छ ।
मन्त्रालयले राष्ट्रिय तथा अन्तरराष्ट्रिय साझेदार निकायसँग समन्वय गर्दै अवस्थाको निरन्तर अनुगमन भइरहेको उल्लेख गर्दै अफवाहमा नपर्न र मन्त्रालयद्वारा जारी आधिकारिक सूचनामात्र विश्वास गर्न सबैमा आग्रह गरेको छ ।
























प्रतिक्रिया