breaking news

सरकार फेरिने हल्लाको पछि नलाग्नु : प्रधानमन्त्री



प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्लाको पछाडि नलाग्न आग्रह गरेका छन् । चितवन आइपुगेका ओलीले इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहमा बोल्दै नयाँ वर्षको दिन माओवादी अध्यक्षले चितवनबाटै ०८२ सालसँगै सरकार फेरिने भनेर दिएको अभिव्यक्तिको जवाफ दिएका हुन् ।

‘यो सरकार स्थिर छ । देशमा स्थायित्व स्थापित हुनेछ । नेपाली कांग्रेस र नेकपा एमाले पुराना, ठूला, देशमा बलिदान गरेर इतिहास बोकेका पार्टी किन संयुक्त भए ? हामी संयुक्त प्रयासबाट देशमा स्थायित्व र स्थिरता कायम गरी देशको विकास गर्न जरुरी छ भनेर एक ठाउँमा आएका हौं’, उनको प्रष्टीकरण थियो ।

ढुक्क भएर देश विकासमा लाग्न अनुरोध गर्दै उनले अहिले हल्लाको पछि लाग्नुपर्ने आवश्यकता नभएको बताए । प्रधानमन्त्री ओलीले अहिलेको सरकारले नै देश विकसित र सुशासनयुक्त बनाउने जिकिर गरे ।चितवनको पर्यटनमा इच्छाकमनाले योगदान दिनसक्ने बताउँदै केन्द्र र प्रदेश सरकारले समेत यहाँको विकासमा सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।

प्रकाशित : ५ बैशाख २०८२, शुक्रबार, ,