breaking news

आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै



काठमाडौँ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरणमा आज देशभर सहिद दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

नेपालमा प्रजातन्त्र स्थापनाका लागि जीवन त्याग गर्ने चार सहिद—धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्मान र सम्झनामा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाइँदै आएको छ ।

राणा शासनविरुद्ध आवाज उठाएको आरोपमा तत्कालीन सरकारले ती सहिदलाई मृत्युदण्ड दिएको थियो । उहाँहरूको त्याग र बलिदानबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भई नेपालमा प्रजातन्त्र स्थापना भएको इतिहास छ ।

प्रजातन्त्रको स्थापना, पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रता, अधिकार र लोकतन्त्रका लागि जीवन आहुति दिने सहिदको स्मरणमा आज विभिन्न सरकारी, राजनीतिक तथा सामाजिक संघ–संस्थाले श्रद्धाञ्जलीसभा, गोष्ठी, र्‍यालीलगायत कार्यक्रम आयोजना गरेका छन् ।

यसै अवसरमा हरेक वर्षझैँ माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाइँदै आएको छ । विसं २०१२ देखि तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउन सुरु गरिएको थियो ।

इतिहासअनुसार, स्वतन्त्रताको माग गर्दै आन्दोलन गरेको अभियोगमा शुक्रराज शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकुस्थित पचलीमा, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा गङ्गालाल श्रेष्ठ र दशरथ चन्द्रलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

प्रकाशित : १६ माघ २०८२, शुक्रबार, ,