काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको हिजाे बसेको बैठकले उक्त प्रस्ताव बहुमतले पारित गरेको हो ।
बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिँदै यसअघि पुस २६ देखि २८ गतेसम्मका लागि तोकिएको महाधिवेशन समय अभावका कारण सारिएको बताए । पुसमा प्रस्तावित मितिमा महाधिवेशन गर्न सम्भव नभएकाले संशोधित कार्यतालिका पारित गरिएको उनको भनाइ थियो ।
संशोधित कार्यतालिकाअनुसार गाउँ/नगर वडा अधिवेशन चैत २१ गते, गाउँ/नगरपालिका अधिवेशन चैत २५ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन चैत २८ गते, एक मात्र प्रदेशसभा निर्वाचन क्षेत्र भएको जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन वैशाख २ गते तथा दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा वैशाख ५ गते गर्ने निर्णय गरिएको छ । त्यसैगरी प्रदेश अधिवेशन वैशाख १० देखि १२ गते र केन्द्रीय महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म गर्ने कार्यतालिका तय गरिएको छ ।
प्रवक्ता महतले गत मङ्सिर १५ गते केन्द्रीय कार्यसमितिले महाधिवेशनसम्बन्धी निर्णय गरिसकेकाले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको दाबी गरे । “अब हामी १५औँ नियमित महाधिवेशनको प्रक्रियामा प्रवेश गरिसकेका छौँ,” उनले भने । आगामी फागुन २१ गते हुने आमनिर्वाचनका कारण २०८३ वैशाखभन्दा अघि महाधिवेशन गर्न नसकिने उनको तर्क थियो ।
तर उक्त निर्णयप्रति महामन्त्री गगनकुमार थापासहित केही नेताहरूले फरक मत व्यक्त गरेका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले आफू सहित चार–पाँच जना नेताहरूको यस विषयमा असहमति रहेको बताउनुभयो । फरक मत हुँदाहुँदै पनि कार्यसम्पादन समितिको बहुमतले प्रस्ताव पारित गरिएको उनको भनाइ थियो ।
महामन्त्री थापाले असोज २९ गते कांग्रेस केन्द्रीय कार्यालयमा दर्ता भएको विशेष महाधिवेशनसम्बन्धी प्रस्ताव विधानअनुसार लागू गर्न यही पुसभित्र १५औँ महाधिवेशन गरिसक्नुपर्ने दाबी गरे । पार्टी विधानको धारा १७ को (२) उद्धृत गर्दै उनले केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यले लिखित अनुरोध गरेमा तीन महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने प्रावधान रहेको स्पष्ट पारे ।
“केन्द्रीय समितिको पदावधि थप्ने तर विशेष महाधिवेशन नगर्ने भन्ने कुनै प्रस्ताव नआएकाले विशेष महाधिवेशन गर्ने प्रस्ताव अनिवार्य रूपमा आउनुपर्छ,” महामन्त्री थापाले भने, “विधानअनुसार यही पुस मसान्तभित्र विशेष महाधिवेशन गर्नैपर्छ भन्ने फरक मत हामीले दर्ज गराएका छौँ ।”
महामन्त्री थापाले अझै एक–दुई दिन समय बाँकी रहेको उल्लेख गर्दै केन्द्रीय समितिबाट विशेष महाधिवेशन बोलाइने अपेक्षा आफूहरूको रहेको बताए । यदि जिम्मेवार नेतृत्वले विधानको पालना नगरे महामन्त्रीको हैसियतमा विधान कार्यान्वयनका लागि चुप लागेर बस्न नसकिने भन्दै आवश्यक परे विधानले दिएको अधिकार प्रयोग गरेर विशेष महाधिवेशन बोलाइने धारणा व्यक्त गरे ।























प्रतिक्रिया