काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकार र प्रमुख राजनीतिक दलबीच विश्वासको वातावरण निर्माण गर्ने प्रयास गर्नुभएको छ ।
मंगलबार शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटवार्तामा यस्तो प्रयास गरिएको हो ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति पौडेलले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन सफल बनाउन सरकार र राजनीतिक दलहरूलाई आग्रह गरे । उनले देशको वर्तमान जटिल अवस्थाको निकासका लागि निर्वाचन नै उपयुक्त विकल्प भएको धारणा राखेका थिए ।
तर छलफलमा सहभागी पूर्वप्रधानमन्त्रीसमेत रहेका शीर्ष नेताहरूले भने वर्तमान सरकारका गतिविधिकै कारण निर्वाचनमा जाने वातावरण नबनेको र अहिलेको सरकारले निष्पक्ष तथा सुरक्षित निर्वाचन गराउन नसक्ने धारणा राखेका थिए । स्रोतका अनुसार निर्वाचनको सुरक्षाको ग्यारेन्टीसमेत सरकारले गर्न नसक्ने भएकाले सर्वपक्षीय सरकार गठन गर्नुपर्ने विषय पनि छलफलमा उठेको थियो ।
जेन–जी आन्दोलनपछि पहिलो पटक प्रधानमन्त्री सुशीला कार्की तीनै शीर्ष नेतासँग एउटै बैठकमा सहभागी भएकी थिइन् । उनले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन सरकार प्रयासरत रहेको र यस विषयमा दलहरूसँग थप छलफल गरिने बताइन् ।
दलका नेताहरूले जेन–जी आन्दोलनका माग सम्बोधन गर्न प्रतिनिधिसभा आवश्यक भएकाले निर्वाचनभन्दा पनि संसद् पुनःस्थापना गर्दा छिटो निकास निस्कने धारणा व्यक्त गरेका थिए । उनीहरूले दलहरूसँग पर्याप्त छलफल नगरी सरकारले आफैं पूरा गर्न नसक्ने मागमा सम्झौता गरेर जेन–जी सम्झौतालाई ‘स्टण्ड’ गर्ने प्रयास गरेको भन्दै आपत्ति जनाएका थिए ।
यसअघि प्रधानमन्त्री कार्कीले सार्वजनिक रूपमा तीन दलका शीर्ष नेता बिदा हुनुपर्ने अभिव्यक्ति दिँदै आए पनि राष्ट्रपति निवासमा भएको छलफलले सरकार र प्रमुख दलबीचको दूरी केही हदसम्म कम भएको स्रोतको भनाइ छ ।
राष्ट्रपतिसँगको संयुक्त छलफलपछि प्रधानमन्त्री कार्की बाहिरिएकी थिइन् । त्यसपछि राष्ट्रपति पौडेल र तीन दलका शीर्ष नेताबीच छुट्टै छलफल भएको थियो ।























प्रतिक्रिया