काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू सभापतिको उम्मेदवार रहेको र सभापति बन्ने दाबी गरे ।
महामन्त्री थापाले १५ औं महाधिवेशन केवल नेतृत्व परिवर्तनका लागि मात्र नभई पार्टीलाई नयाँ ढंगले रूपान्तरण गर्ने अवसर भएको पनि बताए। उनले क्रियाशील सदस्यता सम्बन्धी कामहरू समयमै अगाडि नबढिरहेकोप्रति असन्तुष्टि जनाउँदै अझै पनि महाधिवेशन समयमै सम्पन्न गर्न सकिने विश्वास व्यक्त गरे ।
महामन्त्रीको हैसियतले पार्टी सभापति शेरबहादुर देउवालाई महाधिवेशन समयमै हुनुपर्ने विषयमा आफू स्पष्ट रूपमा भनिरहेको जानकारी दिँदै उनले निर्वाचनअघि नै महाधिवेशन हुनैपर्ने अडान दोहोर्याए। “जुनसुकै मूल्य चुकाउन तयार छौँ तर महाधिवेशन निर्वाचनअघि हुनैपर्छ,” उनको भनाइ थियो।
कार्यक्रममा बोल्दै महामन्त्री थापाले क्रियाशील सदस्यता नवीकरण तथा विवरण पठाउने प्रक्रिया अपेक्षाअनुसार अघि नबढेको स्वीकार गरे। यद्यपि कसैलाई दोष नदिने भन्दै अझै पनि समयमै अधिवेशन गर्न सकिने आत्मविश्वास रहेको बताए। उनले केही सञ्चारमाध्यममा महाधिवेशन सम्भव छैन भन्ने भाष्यप्रति असहमति जनाउँदै नेतृत्वलाई यस विषयमा स्पष्ट रूपमा ध्यानाकर्षण गराइरहेको उल्लेख गरे ।
यस्तै थापाले फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन अनिवार्य रहेको बताएका छन् । उनले अहिले समयमै निर्वाचन हुन्छ की हुँदैन भन्ने अनिश्चय पैदा भएको भन्दै निर्वाचन समयमै हुनुपर्ने बताए। उनले परिणाम खोज्ने भन्दा पनि निर्वाचन गराएर नयाँ जनादेशसहित सरकार बनाउने कुरा प्रमुख रहेको बताए ।
महामन्त्री थापाले समयमै निर्वाचन नभए नेपाल ठूलो अनिश्चयमा जानसक्ने जिकिर गरे ।























प्रतिक्रिया