breaking news

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक निरन्तर विवादबीच आज फेरि बस्दै



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक निरन्तर विवादबीच आज फेरि बस्दै छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरिएको छ।

१५औँ महाधिवेशन कहिले गर्ने भन्ने अत्यन्त संवेदनशील विषयमा एक सातादेखि अनौपचारिक रूपमा सहमतिको प्रयास गरे पनि कुनै टुंगो न लागेको प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन्।

गत बिहीबारसम्म पदाधिकारी र सदस्यहरूले आ–आफ्नो धारणा राखेपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमतिको सम्भावना खोज्दै बैठक रोकेका थिए ।

शुक्रबारको छलफल परिणामविहीन भएपछि शनिबारका लागि बोलाइएको बैठक सहमति नजुटेकै कारण सोमबार सारियो। सोमबार पनि प्रगति नदेखिएपछि फेरि मंसिर ४ गतेका लागि बैठक तोकिएको हो।

प्रवक्ता महतका अनुसार दुवै समूह आफ्नै अडानमा अडिग रहेका कारण महाधिवेशनसम्बन्धी विवाद समाधानतर्फ अघि बढ्न सकेको छैन। “महामन्त्री पक्षले चुनावअघि महाधिवेशन हुनुपर्ने अडान लिएको छ भने संस्थापन पक्ष निर्वाचनपछि महाधिवेशन गर्ने प्रस्तावमा स्थिर छ,” उनले भने।

कात्तिक १९ गते महामन्त्री गगन थापाले पुस १६–१९ गते महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गर्नुभएको थियो। त्यसको जवाफमा सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७–३० गते महाधिवेशनको प्रस्ताव अघि सारेका थिए। गगन समूहले आफ्नो कार्यतालिका अघि बढाएको र यादव पक्षलाई संस्थापनको समर्थन रहेको कारण महाधिवेशनको विषय कांग्रेसभित्र झनै जटिल बन्दै गएको छ।

प्रकाशित : ४ मंसिर २०८२, बिहिबार, ,