सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका स्थानीय सरोकारवालाहरुले मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं पथान्तरण पुर्ण रुपमा बन्द गरेका छन् । प्रभावित क्षेत्रका बासिन्दाहरुसंग मेलम्ची खानेपानी परियोजना र नेपाल सरकारले गरेको सहमति कार्यान्वयन नगरेको भन्दै संघर्ष समिति, राजनीतिक दल र बाढी प्रभावित स्थानीयले माग पूरा नभएसम्म पानी पथान्तरण बन्द गरेको जनाएका छन् ।
तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवसँग १ वर्ष अघि भएको सम्झौता कार्यान्वयनको माग गरेका छन् ।
त्यति बेला मेलम्ची नदी हेलम्बुबाट पानी पथान्तरण पछि सुन्दरीजलमा प्राप्त हुने पानीको परिमाणको आधारमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले बिक्रि गरेवापतको मूल्यको २५ प्रतिशत हेलम्बु गाउँपालिकाको विकासका लागि उपलब्ध गराउनुपर्ने स्थानीयको माग रहेकोमा मन्त्रलाय र सरोकारवाला निकायहरुबीच पुनः छलफल गरि तीन महिनाभित्र टुङग्याउने, हेलम्बु मेलम्ची एकिकृत जलाधार तथा क्षेत्र विकास परियोजना गठन गरी कार्यान्वयन गर्न यथाशिघ्र मन्त्रिपरिषदमा प्रस्ताव पेस गरी कार्यन्वयनमा ल्याउन स्थानीय सरकार र खानेपानी मन्त्रालयले पहल गर्ने लगायतका विषयमा सहमति भएको थियो । तर स्थानीयले यी मागहरु अहिलेसम्म पुरा नभएको आरोप लगाएका छन् ।
पाँच दिन अघि स्थानीय चार सरोकार वाला समितिले प्रभावित क्षेत्रका बासिन्दाहरु संग मेलम्ची खानेपानी आयोजना र सरकारले गरेको सहमति अबिलम्ब पूरा गर्न सरोकारवाला समिति हेल्मो सिन्धु उपत्यका सामाजिक उत्थान कार्यक्रम संचालक समिति, याङ्री लार्के स्थानीय सरोकार समिति, ईन्द्रावती मेलम्ची सामाजिक उत्थान कार्यक्रम संचालक समिति र मण्डन उपत्यका सामाजिक उत्थान संचालक समितिले संयुक्त ज्ञापन पत्र जारी गर्दै तालाबन्दी गरेका थिए ।























प्रतिक्रिया