breaking news

बेमौसमी वर्षाले धानबालीमा क्षति, चिन्तित किसान



काठमाडौँ । चाँगुनारायण नगरपालिका-९ ताथलीका किसान शिव गिरीले सोमबार धान काट्ने बेला चरक्क घाम लागेको थियो । तर, मङ्गलबाट घाम देख्नै पाइएन । धान सुक्नै पाएन । बरु बुधबारदेखि निरन्तर झरी परिरहेको छ । गिरीलाई घाममा सुक्न नपाएको धानमा निरन्तर पानी पर्दा धान टुसा लाग्ने हो कि भन्ने चिन्ताले सताएको छ ।

उहाँले भन्नुभयो, “दुई बिघाभन्दा बढी धान काटेको तीन/चार दिन भयो, धान काटेदेखि घाम लागेकै छैन, हिजो बिहानदेखि झन् पानी परिरहेको छ, अब धान खेतमै टुसा लाग्छ होला, वर्षभरि खेती गर्यो स्याहार्ने बेलामा यस्तै हुन्छ ।” गिरीलाई एकातिर काटेको धान सुकाउन नपाई उम्रिने हो कि भन्ने चिन्ता छ भने अर्कोतिर ठूला पानी वा असिना परेर काट्न बाँकी धान पनि झार्दिने हो कि भन्ने छ ।  पाक्दै गरेका र काटेर राखेका धानलाई दुई-तीन दिन घाममा सुकाएमा भित्र्याउन सकिन्छ । तर वर्षा नरोकिँदा पाक्दै गरेको र काटेर सुकाएका धानमा असर गर्छ ।

गिरीले भन्नुभयो, “धान काटेर झार्नका  लागि मुठा बाँध्ने काम हुँदै थियो, एक्कासि पानी पर्यो, पानीले कामै गर्न दिएन, अहिले बाँधेको मुठा र नबाँधेको धान सबै भिजेको छ ।” गिरीले घाम लाग्ने प्रतीक्षामा मौसमसम्बन्धी समाचार पनि सुनिरहनु भएको छ । तर, जल तथा मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्या’का कारण बिहीबारदेखि शनिबार बिहानसम्म कोशी, मधेस र बागमती प्रदेशको मौसम प्रभावित हुने देखाएको छ ।

गिरीलाई जस्तै भक्तपुरकै सूर्य विनायक नगरपालिका-७ गुण्डुकी मीना नगरकोटी र अनिता बस्नेतलाई पनि काटिसकेको धान घर भित्र्याउन नपाउँदा तथा काट्न बाँकी धानमा निरन्तर पानी पर्दा काट्नै नपाई झर्छ कि भन्ने चिन्ता लागेको छ । गिरी र नगरकोटीले जस्तै भक्तपुरका किसानले असिना पानीको डरले तिहारलगत्तै धान काट्न थालेका थिए । तर मौसम प्रभावित भएर घाम नलाग्दा र पानी  पर्दा त्यहाँका किसानले धान काट्दा काट्दै बीचमै छोड्नु परेको छ ।

त्यसै गरी ललितपुरको महालक्ष्मी नगरपालिका-७ चारघरेका किसान नुच्छेराज महर्जनले मङ्गलबार मात्रै दुई रोपनीको धान काट्नुभयो । तर, विहीबारदेखि घाममा सुक्नुपर्ने धानलाई पानीले पिटिरहेको छ । उहाँलाई पनि धान भित्र्याउने समयमा पानी र असिनाले धान सखाप पार्छ कि भन्ने चिन्ता छ ।  महर्जनले भन्नुभयो, “खेती लगाउने बेला जहिल्यै मल र बीउको अभाव, बल्लतल्ल खेती लगायो, जब स्यार्ने बेला असिना र पानीको डर हुने, दुई वर्षअघि पनि यस्तै भएको थियो, घाम लागेको देखेर धान काटेपछि झटार्न नपाउँदै लगातार पानीले धान खेतमै उम्रेको थियो, अहिले तीन दिनदेखि निरन्तर पानी परिरहेको छ, पानीले कुटेर सबै धानले टुसा हालेर घरभित्र हाल्न पाइएन, अब अहिले त्यसै हुने त होला ।”

काटेको धान भित्र्याउन नपाउँदा यो वर्ष धानको उत्पादन घट्ने उहाँको अनुमान छ । धान काटेपछि घाम नलाग्दा र निरन्तर पानी पर्दा ललितपुर तथा भक्तपुरका किसान जस्तै धादिङ, गोर्खा, लमजुङ, रुपन्देहीलगायत देशैभरिका किसान पिरमा छन् । भित्र्याउनका लागि अन्तिम तयारीका साथ काटिसकेको धान खेतको गरामै भिजेपछि किसान चिन्तित छन् । यो यामको मुख्य बाली धान हो । धान स्याहार्ने अवस्थामा बेमौसमी वर्षा हुँदा किसानलाई चोट परेको छ ।

तिहार सकिएलगत्तै पाकेको धान काटेर भित्र्याउने तयारी हुँदै गर्दा मङ्गलबारदेखि परेको अविरल वर्षाले धान खेतमै भिजेको छ । अहिले काटेर सुकाएको धान खेतमा डुबेको छ । काट्न बाँकी धानको पनि पानीले बाला झारेको छ । बेमौसमी बर्सातका कारण वर्षभरिको मेहनत खेर जाने आम किसानको चिन्ता छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्या’ का कारण आजदेखि शनिबार बिहानसम्म कोशी प्रदेशअन्तर्गत सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी, मधेस प्रदेशअन्तर्गत बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा र सप्तरी, बागमती प्रदेशअन्तर्गत काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली मौसम प्रभावित हुने छ ।

प्रकाशित : १४ कार्तिक २०८२, शुक्रबार, ,