मेलम्ची (सिन्धुपाल्चोक): हेलम्बु गाउँपालिका–७, सुलसिङ्गको ब्लाङ्जे झर्ना हिजोआज देश-विदेशका पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनेको छ। तर, यो प्राकृतिक सौन्दर्यको खानी अहिले पनि संघ र प्रदेशको नजर भनेको परेको छैन ।
दोस्रो स्थानीय तहको निर्वाचन पछि निर्वाचित वडा अध्यक्ष निलबहादुर खडकाका अनुसार, सामुदायिक सहयोग र सीमित बजेटकै भरमा झर्नाको संरक्षण र प्रचारमा लागिएको हो। गाउँपालिकाको स्रोत सीमित छ, तर हामीले वडाको केही बजेट झर्नाको संरक्षण र प्रचारमा लगाएका छौं, उनले बताए। तर संघ र प्रदेशले ध्यान नदिँदा पूर्वाधार निर्माणमा समस्या भइरहेको छ।
अध्यक्ष खडका मात्र होइन, स्थानीय समुदाय पनि संघ र प्रदेश सरकारको मौनता प्रति असन्तुष्ट छ। झर्ना वरपरका बासिन्दाहरूले स्वेच्छिक रूपमा बाटो मर्मत, सरसफाइ र पर्यटक स्वागतमा सहयोग गर्दै आएका एक स्थानीयले बताए। उनीहरू भन्छन्, “हामीले सकेसम्म आफ्नो प्रयास गरिरहेका छौं, तर ठूलो पूर्वाधार बनाउन स्रोत र सरकारी सहयोग अपरिहार्य छ।
हाल ब्लाङ्जे झर्नामा दैनिक रूपमा सयौं आन्तरिक तथा विदेशी पर्यटक पुग्ने गरेका छन्। तर, सडक जीर्ण छ, यातायात असजिलो छ, खानेपानी र सरसफाइको व्यवस्थापन पनि कमजोर छ। सडकको अवस्था अत्यन्तै दयनीय छ, हलसम्म कुनै निकायको नजर परेको छैन,” वडा अध्यक्ष खडका भन्छन्।
सामुदायिक पर्यटनको सम्भावना बोकेको ब्लाङ्जे झर्ना संघ र प्रदेश सरकारको योजनामा प्राथमिकतामा पर्न सकेमा यो क्षेत्रले हेलम्बु मात्र होइन, सम्पूर्ण सिन्धुपाल्चोकलाई पर्यटकीय नक्शामा स्थापित गर्न सक्ने बताउनु भयो ।
स्थानीयवासीहरूको एउटै माग छ । संघ र प्रदेशले अब हेरेर मात्र होइन, हात हालेर सहयोग गर्नुपर्यो।
स्रोत र श्रम दुबै जुटाएर सामुदायिक स्तरमा अघि बढेको ब्लाङ्जे झर्ना, राज्यको साझेदारी पाए राष्ट्रिय गन्तव्य बन्न सक्ने स्थानीयको अपेक्षा रहेको छ ।
























प्रतिक्रिया