भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सचिवालय बैठकले पार्टीको ११औँ महाधिवेशन आगामी मंसिरमा आयोजना गर्ने निर्णय गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भक्तपुरको गुण्डुस्थित ओली निवासमा आइतबार सम्पन्न बैठकले आगामी मङ्सिर अन्तिम साता महाधिवेशन आयोजना गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
महाधिवेशनको मिति र स्थान यही असोज २९, ३०, ३१ गते बस्ने पार्टी केन्द्रीय कमिटी बैठकले तय गर्ने जानकारी दिँदै उनले देशको विषम परिस्थितिका कारण एक वर्षअघि नै महाधिवेशन गर्न लागेको उनले बताए ।
विसं २०७८ मङ्सिर १० देखि १४ गतेसम्म भएको १०औँ महाधिवेशनले पाँच वर्षका लागि ओली नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो भने एमालेको दोस्रो विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा सम्पन्न भएको थियो ।
बैठकले बैठकले प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने मागसमेत गरेको उनले जानकारी दिए । यस्तै, सरकारले सबैलाई एकताबद्ध बनाएर लैजान सक्नुपर्ने बैठकको निष्कर्ष रहेको सुनाए ।
बैठकमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल, सचिवहरु योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, गोकर्ण विष्ट, रघुवीर महासेठ र लेखराज भट्टले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आफ्नो धारणा राखेका थिए । यसअघि शुक्रबार सचिवालयका अन्य सदस्यले धारणा राखेका थिए ।























प्रतिक्रिया