breaking news

आज खग्रास चन्द्रग्रहण, साढे तीन घण्टा देखिने



काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार आज आइतबार (भदौ २२, भाद्र शुक्ल पूर्णिमा) खग्रास चन्द्रग्रहण लाग्ने भएको छ ।

समितिले स्वीकृति दिएको पञ्चांगअनुसार ग्रहण राति १० बजेर ११ मिनेटमा सुरु हुनेछ । राति ११ः५६ मा ग्रहणको मध्यभाग हुनेछ भने राति ०१ः४१ बजे ग्रहण समाप्त हुनेछ । कुल साढे तीन घण्टा काठमाडौंबाट ग्रहण अवलोकन गर्न सकिने समितिका पूर्वअध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

वि.सं. २०८२ सालको यो पहिलो ग्रहण हो । यसपछि आगामी फागुन शुक्ल पूर्णिमामा खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ ।

यसपटक लाग्ने ग्रहणलाई ‘मकै चन्द्रग्रहण’ भनिन्छ । ग्रहणका समयमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकलाई शास्त्रीय परम्पराअनुसार भोजन निषेध गरिएको छ । शास्त्रीय मान्यताअनुसार, आइतबार दिउँसो १ बजेर ११ मिनेटपछि अन्यले भोजन नगर्नुपर्ने उल्लेख छ ।

धार्मिक दृष्टिले चन्द्रग्रहण पूर्णिमा तिथिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने परम्परा रहिआएको छ ।

 

प्रकाशित : २२ भाद्र २०८२, आइतबार, ,