अन्तरराष्ट्रिय

थाइल्यान्ड र कम्बोडियाको सीमा क्षेत्रमा झडप,ज्यान गुमाउनेको सङ्ख्या ३२ जना पुग्यो



विश्व । थाइल्यान्ड र कम्बोडियाबीच दोहोरिएको सीमा विवादका कारण अहिलेसम्म दुवै पक्षका ३२ जनाको ज्यान गएको छ । एक सय ३० जनाभन्दा बढी घाइते भएका छन् ।

सीमा क्षेत्रमा द्वन्द्व चर्किँदै गएपछि दुवै देशबीच ठूलो युद्धको खतरा बढेको अल जजिराले जनाएको छ ।

कम्बोडियाको ओडर मेन्चे प्रान्तमा बिहीवार थाइल्यान्डको तोप आक्रमणले क्षति पुर्‍याएको बौद्ध गुम्बाबाट एक जनाको शव निकाल्दै गरेका कम्बोडियन सैनिकहरूको तस्वीर सार्वजनिक भएको छ ।

हिजो कम्बोडियन सेनाले सात जना सर्वसाधारण र पाँच जना सैनिक गरी थप १२ जनाको ज्यान गएको पुष्टि गरेको हो ।

कम्बोडियाको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेताले अहिलेसम्म कम्बोडियाबाट ५० जनाभन्दा बढी सर्वसाधारण र २० भन्दा बढी सैनिक घाइते भएको बताउनु भएको छ ।

थाइल्याण्डले भने पछिल्लो दुई दिनमा १३ जना सर्वसाधारण जसमा बालबालिका र ६ जना सैनिकको ज्यान गएको जनाएको छ । साथै कम्तीमा २९ जना सैनिक र ३० जना सर्वसाधारण घाइते भएको पुष्टि गरिएको छ ।

प्रकाशित : ११ श्रावण २०८२, आइतबार, ,