काठमाडौँ। सामाजिक विकास नेपाल को संयोजन तथा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास कार्यालयको आर्थिक सहयोगमा सञ्चालन गरिएको २० दिने महिला सीप विकास तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
दक्षिणकाली नगरपालिका–५ महाकालमा आयोजित उक्त तालिममा ३० जना महिलाहरूको सहभागिता रहेको थियो। तालिममा सहभागी महिलाहरूलाई क्रिस्टल तथा पोतेका सामग्री बनाउने सीप सम्बन्धी व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रममा महिलाहरूलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
तालिम समापन कार्यक्रममा मोहन बस्नेत प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा बोल्दै उहाँले महिलाहरूको आर्थिक सशक्तीकरणका लागि यस्ता सीपमूलक तालिम अत्यन्त प्रभावकारी हुने बताउनुभयो। उहाँले सीपसँगै उत्पादन र बजारीकरणमा ध्यान दिन सके महिलाहरूले घरमै बसेर आयआर्जन गर्न सक्ने धारणा व्यक्त गर्नुभयो। त्यस्तै कार्यक्रममा विशेष अतिथि सुरेश निरौला, प्रशिक्षक कृष्णा शाही तथा सामाजिक विकास नेपालकी अध्यक्ष मनिशा पोखरेल, स्थानिय निकायका प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहित संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी महिलाहरूले तालिमबाट आफूहरूले नयाँ सीप सिक्ने अवसर प्राप्त गरेको र आगामी दिनमा यसलाई व्यवसायिक रूपमा अगाडि बढाउने योजना रहेको बताएका थिए। तालिम अवधिभर सहभागीहरूले विभिन्न प्रकारका क्रिस्टल, पोतेका गहना तथा सजावटी सामग्री तयार गर्ने अभ्यास गरेका थिए।
मनिशा पोखरेल ले कार्यक्रमको अध्यक्षता गर्दै महिलाहरूको क्षमता विकास र आत्मनिर्भरता अभिवृद्धि गर्न यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने बताउनुभयो। संस्थाकी अध्यक्षता रहेकी उहाँले स्थानीय तह, प्रदेश सरकार तथा सामाजिक संस्थाबीचको सहकार्यले समुदायमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
समापन कार्यक्रममा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने उनीहरूले तयार पारेका सामग्रीहरूको प्रदर्शनसमेत गरिएको थियो। स्थानीयवासी तथा अतिथिहरूले महिलाहरूले निर्माण गरेका सामग्रीको प्रशंसा गरेका थिए। आयोजक संस्थाका अनुसार आगामी दिनमा पनि महिलाहरूलाई लक्षित गर्दै विभिन्न आयमूलक तथा सीप विकास कार्यक्रम सञ्चालन गरिनेछ।






















प्रतिक्रिया