मुख्य समाचार

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन



काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए ।

समितिका सदस्यमा अर्थ मन्त्रालयका सचिव डा. धनश्याम उपाध्याय र भुवनकुमार दाहाल रहेका छन्।

बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य तथा सदस्यमा नवराज सिम्खडा र रोशनबहादुर शाक्यलाई नियुक्त गर्ने निर्णय पनि गरेको मन्त्री तिमिल्सिनाले बताए।

यसैगरी मन्त्रिपरिषद्ले नेपाल विशेष सेवा ऐन, २०४२ संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ ।

त्यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७३ संशोधनसम्बन्धी विधेयक संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय पनि गरिएको छ ।

मन्त्रिपरिषद्को बैठकले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न समेत स्वीकृति दिएको छ ।

प्रकाशित : ९ बैशाख २०८३, बुधबार, ,