काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले) ले प्रतिनिधिसभाको समानुपातिकतर्फबाट १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओली लाई पितृशोक परेकाले उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले उम्मेदवारको टुंगो लगाएको हो। पार्टीका उपमहासचिव लेखराज भट्टले बैठकका निर्णय सार्वजनिक गर्दै विभिन्न क्लस्टरका आधारमा १६ जनाको नाम आयोगमा पठाउने निर्णय भएको जानकारी दिए।
निर्णयअनुसार आदिवासी जनजातितर्फ भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर र कुलभक्त शाक्यलाई सिफारिस गरिएको छ। खस आर्यतर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल, गुरुप्रसाद बराल, पुष्पराज कँडेल र यशोदा कुमारी बरालको नाम टुंगो लागेको छ।
त्यस्तै थारू क्लस्टरबाट कृपाराम राणा, दलिततर्फ विष्णुमाया विक र नीता घतानी, मधेसीतर्फ रिंगिला यादव, यशोदा कुमारी र चन्द्रेश्वर मण्डल तथा मुस्लिमतर्फ साजिदा सिद्धिकीलाई समानुपातिक सांसदका लागि सिफारिस गरिएको छ।
उता श्रम संस्कृति पार्टी ले पनि समानुपातिकतर्फ आफ्ना चार सांसदको नाम टुंग्याएको छ। हर्क साम्पाङ को नेतृत्वमा रहेको उक्त पार्टीले निर्वाचनमा ३ लाख ८५ हजार ९०२ मत प्राप्त गरेकाले सोही आधारमा चार जनालाई प्रतिनिधिसभामा पठाउने अवसर पाएको हो।
सांसद छनोटको विषयमा पार्टीभित्र मतभेद र विवाद भए पनि अन्ततः नाम टुंगो लगाइएको केन्द्रीय कोषाध्यक्ष समिता राईले जानकारी दिइन् ।
निर्णयअनुसार आदिवासी जनजाति महिला कोटाबाट हेटौँडाकी मन्दिरा मोक्तान, खस आर्य महिलाबाट अम्बिका संग्रौला, दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेल र आदिवासी जनजातितर्फ पूर्व गोर्खा लाहुरे पूर्ण लिम्बूलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरिएको छ। यससँगै पार्टीभित्रको सांसद छनोटसम्बन्धी अन्योल तत्कालका लागि अन्त्य भएको बताइएको छ।























प्रतिक्रिया