breaking news

प्रचारप्रसारमा अवरोध गरे दुई लाख जरिवाना वा तीन वर्षसम्म कैद:निर्वाचन आठ दिन बाँकी



काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन आउन आठ दिन मात्र बाँकी रहँदा निर्वाचन आयोग ले प्रचारप्रसारमा अवरोध नगर्न कडा चेतावनी दिएको छ। फरक राजनीतिक दल वा उम्मेदवारको चुनावी गतिविधिमा बाधा पु¥याए रु दुई लाखसम्म जरिवाना, तीन वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको आयोगले जनाएको छ।

निर्वाचन (कसुर तथा सजाय) ऐनअनुसार, कुनै व्यक्तिलाई उम्मेदवारी दिन, प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने उद्देश्यले वाधा अवरोध गर्ने, गराउने वा थुनछेक गर्ने कार्य दण्डनीय मानिन्छ। यस्तो कार्यमा संलग्न पाइएमा कडा कारबाही गरिने व्यवस्था छ।

आयोगले प्रतिनिधिसभा निर्वाचनमा सहभागी दल र उम्मेदवारको प्रचारप्रसार गतिविधि विभिन्न माध्यमबाट अनुगमन गरिरहेको जनाएको छ। पछिल्लो समय केही दल वा उम्मेदवारका कार्यक्रम बिथोलिएको, अवरोध सिर्जना गरिएको भन्ने गुनासो तथा उजुरी प्राप्त भएको र सञ्चारमाध्यमबाट समेत यस्ता घटनाबारे जानकारी आएको आयोगले उल्लेख गरेको छ।

निर्वाचन आचारसंहितामा दल, उम्मेदवार वा तिनका भातृ सङ्गठनले आयोजना गर्ने जुलुस, आमसभा, कोणसभा, बैठक वा अन्य कार्यक्रम अवरुद्ध गर्न नपाइने स्पष्ट व्यवस्था छ। आयोगले आसन्न निर्वाचन स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउनु सबै राजनीतिक दल, उम्मेदवार, आम नागरिक तथा सरोकारवालाको साझा दायित्व भएको स्मरण गराएको छ।

प्रचलित सङ्घीय कानुनबमोजिम प्रचारप्रसारमा बाधा नपुर्‍याउन तथा शान्तिपूर्ण वातावरण कायम राख्न आयोगले सम्बन्धित सबै पक्षलाई पुनः आग्रह गरेको छ।

प्रकाशित : १३ फाल्गुन २०८२, बुधबार, ,