समाचार

झुलाघाट नाका तीन दिन बन्द रहने



बैतडी । आसन्न निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएको बैतडीको झुलाघाट सीमानाका तीन दिनका लागि बन्द गरिने भएको छ।

प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार मतदान हुनुभन्दा ७२ घण्टा अघिदेखि नाका बन्द गरिनेछ। फागुन १८ गते राति १२ः०० बजेदेखि फागुन २१ गते राति १२ः०० बजेसम्म आवतजावत पूर्ण रूपमा रोक लगाइने जनाइएको छ। निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो।

बैतडीको करिब ३१ किलोमिटर सीमा भारतसँग जोडिएको छ। सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको र सशस्त्र प्रहरी बलका सीमा सुरक्षा चौकी (बिओपी)मार्फत निगरानी कडा पारिएको जिल्ला सुरक्षा समितिले जनाएको छ।

तल्लोसोराड क्षेत्रमा पर्ने महाकाली नदीका विभिन्न घाटबाट डुङ्गामार्फत हुने आवतजावत पनि निर्वाचन अवधिभर बन्द गरिनेछ।

यसअघि पनि निर्वाचनका बेला ७२ घण्टा सीमानाका बन्द गर्ने प्रचलन रहेको थियो। अत्यावश्यक काम परेमा भने दुई देशबीचको समन्वयमा नाका खोल्न सकिने व्यवस्था रहने बताइएको छ।

 

प्रकाशित : १३ फाल्गुन २०८२, बुधबार, ,