काठमाडौँ । नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ भने अन्य पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा पनि समान अवस्था देखिएको छ। देशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको जनाइएको छ।
महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्नेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्र र अन्य प्रदेशका हिमाली भूभागमा सामान्य बदली रहनेछ भने तराईमा मौसम प्रायः सफा रहने अनुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
आज राति तराईका केही स्थानमा तुँवालो लाग्ने सम्भावना छ। गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभाग र अन्य प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ। तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले हुस्सु, तुँवालो, वर्षा र हिमपातको सम्भावना रहेका क्षेत्रमा बसोबास गर्ने नागरिक तथा ती क्षेत्रमा सवारीसाधन सञ्चालन गर्ने सबैलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।























प्रतिक्रिया