समाचार

विपक्षी उम्मेदवारको गृह वडामै एमाले उम्मेदवार तामाङलाई भव्य स्वागत



फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार शेरबहादुर तामाङलाई चौतारा साँगाचोगढी नगरपालिका वडा नम्बर ७ मा भव्य स्वागत गरिएको छ।
क्षेत्र नम्बर २ अन्तर्गतका अन्य स्थानीय तहहरूमा मतदाता भेटघाट तथा घरदैलोपछि चौतारा प्रवेश गरेका तामाङलाई वडा नम्बर ७ का मतदाताले न्यानो माया र उत्साहका साथ स्वागत गरेका हुन्।

उक्त वडा यसै निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेदवार युवराज दुलालको गृह वडा हो। साथै २०७९ सालको स्थानीय तह निर्वाचनमा सो वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए। विपक्षी उम्मेदवारको गृह वडामै एमाले उम्मेदवार तामाङलाई देखिएको जनसमर्थन र सद्भावका कारण निर्वाचनमा जित सुनिश्चित हुने अनुमान गरिएको छ।

एमाले निर्वाचन प्रचारप्रसार समितिका अनुसार, कांग्रेसबाट उम्मेदवार बनेका बहालवाला वडा अध्यक्ष समेत तामाङप्रति सकारात्मक देखिएकाले आफ्नो पक्षमा माहोल बनेको दाबी गरिएको छ।

उम्मेदवार तामाङले क्षेत्रभरि नै अनुकूल वातावरण बनेको बताउँदै निर्वाचन जित्ने आधार तयार भइसकेको दाबी गरेका छन्। हाल तामाङ चौतारा साँगाचोगढी नगरपालिकाका विभिन्न गाउँ बस्तीमा घरदैलो कार्यक्रम तथा मतदाता भेटघाटमा व्यस्त रहेका छन्।

प्रकाशित : ११ फाल्गुन २०८२, सोमबार, ,