breaking news

निर्वाचन सुरक्षामा कुनै कमजोरी नहोस् : सशस्त्र प्रहरी महानिरीक्षक अर्याल



काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा कुनै पनि किसिमको कमीकमजोरी नहोस् भन्नेमा विशेष ध्यान दिन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सोमबार विभिन्न कार्यालय प्रमुखको जिम्मेवारीमा खटिन लागेका अधिकृतलाई निर्देशन दिँदै महानिरीक्षक अर्यालले आमनागरिकलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने गरी प्रभावकारी रूपमा परिचालित हुन आग्रह गरे ।

उनले निर्वाचन लक्षित सुरक्षा योजनालाई तीव्र रूपमा कार्यान्वयन गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन उच्च व्यावसायिक दक्षता प्रदर्शन गर्नुपर्नेमा जोड दिए। कमजोर कमाण्ड र गल्ती गर्ने कमाण्डरमाथि तत्काल कारबाही गरिने चेतावनी दिँदै सबैलाई उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गरे ।

महानिरीक्षक अर्यालले कमाण्डको जिम्मेवारीमा रहेका अधिकृतले पदीय मर्यादाभित्र रही कार्यक्षेत्रमा इमान्दारिताका साथ काम गर्नुपर्ने उल्लेख गर्दै बदमासी गरेमा तत्काल कारबाही गरिने स्पष्ट गरे। साथै, निर्वाचन सफल बनाउन मातहतका कर्मचारीलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै परिचालित गर्न निर्देशन दिए।

उनले सङ्गठनले लिएको सोच र नीतिअनुसार सबै सशस्त्र प्रहरी कर्मचारी आ–आफ्नो जिम्मेवारीमा अझ सक्रिय भएर खटिनुपर्ने बताउँदै राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउनेतर्फ ध्यान दिनुपर्ने उल्लेख गरे ।

महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण इकाइहरूले आर्थिक पारदर्शिता कायम गर्दै भ्रष्टाचारप्रति शून्य सहनशीलताका साथ कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए। सीमामा खटिँदा थप सक्रिय भई गस्ती, पेट्रोलिङ तथा अपरेशनल गतिविधि सशक्त रूपमा सञ्चालन गर्न पनि उनले निर्देशन दिए।

 

प्रकाशित : १३ माघ २०८२, मंगलबार, ,