काठमाडौँ । नेपाली कांग्रेस शेरबहादुर देउवा समूहले पार्टीको आधिकारिकता माग्दै आज सर्वोच्च अदालत जाने भएको छ ।
निर्वाचन आयोगले मान्यता नदिएपछि देउवा पक्षले आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा कानूनी लडाइँ लड्ने तयारी गरेको हो ।
पार्टीको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापाको नेतृत्वलाई निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता दिएपछि देउवा समूह त्यसको विरोधमा उत्रिएको छ ।
शनिबार कांग्रेस केन्द्रीय कार्यालयमा बसेको देउवा समूहको बैठकले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको थियो । आयोगबाट निरुपण भइसकेकाले अब अदालतमार्फत न्याय खोज्ने तयारी गरिएको हो । बैठकले कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई कानूनी प्रक्रियाको जिम्मेवारी दिएको छ ।
गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आह्वान गरी नयाँ कार्यसमिति चयन गरेका छन् । उक्त महाधिवेशनबाट गगन थापा पार्टी सभापतिमा निर्वाचित भएका छन् ।
देउवा पक्षले भने नियमित महाधिवेशनको मिति पहिल्यै तोकिएको अवस्थामा विशेष महाधिवेशनको कुनै औचित्य नरहेको दाबी गर्दै त्यसलाई अस्वीकार गर्दै आएको छ ।























प्रतिक्रिया