काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले केही निर्वाचन क्षेत्रबाहेक अन्य सबै क्षेत्रमा पार्टीका तर्फबाट उम्मेदवार चयन गरेको हो । बैठकपछि उपमहासचिव लेखराज भट्टले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारको निर्णय भइसकेको जानकारी दिए ।
“केही निर्वाचन क्षेत्रबाहेक सबै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लागेको छ,” उनले भने, “बाँकी निर्वाचन क्षेत्रको उम्मेदवार चयन गर्ने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ ।”
बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई झापा निर्वाचन क्षेत्र नं ५ बाट र सभामुख देवराज घिमिरेलाई झापा–२ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै उपाध्यक्ष विष्णुप्रसाद पौडेल पाल्पा–२, उपाध्यक्ष गोकर्ण विष्ट गुल्मी–२, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ लमजुङ, उपमहासचिव लेखराज भट्ट कैलाली–५ तथा रघुवीर महासेठ धनुषा–४ बाट उम्मेदवार हुनेछन् ।
सचिवद्वय महेश बस्नेत भक्तपुर–२ र भानुभक्त ढकाल तेह्रथुमबाट उम्मेदवार चयन भएका छन् । काठमाडौँ क्षेत्र नं १ बाट मोहन रेग्मी, क्षेत्र नं २ बाट मणिराम फुयाँल, क्षेत्र नं ३ बाट रामेश्वर फुयाँल, क्षेत्र नं ६ बाट अमनकुमार मास्के, क्षेत्र नं ८ बाट राजेश शाक्य र क्षेत्र नं १० बाट विनोद श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । काठमाडौँका बाँकी निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याउने जिम्मेवारी अध्यक्ष ओलीलाई दिइएको उपमहासचिव भट्टले जानकारी दिए ।
यस्तै सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने निर्णयसमेत गरेको सचिव महेश बस्नेतले जानकारी दिए ।























प्रतिक्रिया