काठमाडौँ । राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदैछ। नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले यसपटक अधिवेशन सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा सञ्चालन गरिने भएको छ। आज बिहान ११ः०० बजे बैठक बस्ने कार्यसूची छ।
अधिवेशनको तयारीस्वरूप राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका थिए । पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने तथा हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अधिवेशन सञ्चालनका सबै तयारी पूरा भइसकेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को पुस २८ गतेको सिफारिसअनुसार आज माघ ४ गते आइतबार बिहान ११ः०० बजेका लागि राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका हुन्। यसअघि राष्ट्रियसभाको १८औँ अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो।
यसैबीच, निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रियसभाका १९ सदस्यका लागि निर्वाचनको तयारीसमेत अगाडि बढाएको छ। आयोगका अनुसार एक जना सदस्य भने निर्विरोध निर्वाचित भइसक्नुभएको छ। प्रतिनिधिसभा निर्वाचनको तयारीसमेत चलिरहेको र राष्ट्रियसभामा नयाँ सदस्यहरूको आगमन हुन लागेको सन्दर्भमा यो अधिवेशनलाई विशेष महत्वका साथ हेरिएको छ।























प्रतिक्रिया