समाचार

आज काठमाडौँका विभिन्न स्थानमा तीन घण्टा बिजुली कटौती



काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती गर्ने जनाएको छ । प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्र मातहतका क्षेत्रमा विद्युत् आपूर्ति अस्थायी रूपमा बन्द गरिनेछ ।

काठमाडौँ उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत राष्ट्रपति भवन शितल निवास क्षेत्रको वितरण प्रणाली भूमिगत गर्ने कार्य भइरहेको छ । भूमिगत कार्य सम्पन्न भइसकेका केबलमा प्राविधिक उपकरण जडान गर्नुपर्ने भएकाले बिजुली कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

सूचना अनुसार पानीपोखरी फिडर अन्तर्गत साङ्ग्रिला होटल अगाडि, लाजिम्पाट, पानीपोखरीका विभिन्न क्षेत्र, महाराजगञ्ज तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्रमा आज बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म बिजुली कटौती हुनेछ ।

यस्तै, राष्ट्रपति भवन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो तथा नेपाल प्रहरी अस्पताल आसपासका क्षेत्रमा पनि सोही समयमा विद्युत् आपूर्ति बन्द रहनेछ ।

बालुवाटार, चुनदेवी र पञ्चकन्या आसपासका क्षेत्रहरूमा समेत बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले विद्युत् कटौतीबाट पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै तोकिएको काम निर्धारित समयभन्दा अगावै सम्पन्न भएमा त्यसअघि नै बिजुली आपूर्ति सुचारु हुन सक्ने जानकारी दिएको छ ।

प्रकाशित : ३ माघ २०८२, शनिबार, ,