काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुँदैछ। मध्याह्न १२ बजे उद्घाटन हुने महाधिवेशनका लागि हाल प्रतिनिधिहरूको नाम दर्ता गर्ने काम तीव्र रूपमा भइरहेको छ।
उद्घाटनअघि नै महाधिवेशन प्रतिनिधिहरू कार्यक्रमस्थलमा पुगेर नाम दर्ता गरी परिचयपत्र (कार्ड) लिइरहेका छन्। प्रतिनिधिहरूसँगै कांग्रेस समर्थकहरू पनि महाधिवेशन स्थलमा भेला हुन थालेका छन्।
कार्यक्रमस्थलमा मञ्च व्यवस्थापनको काम जारी छ। महाधिवेशन स्थललाई कांग्रेसका पुराना तथा ऐतिहासिक नेताहरूका प्रतिमाहरू राखेर सजाइएको छ। मञ्च वरिपरि बिपी कोइराला, सुवर्णशम्शेर जबरा, मातृकाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका प्रतिमाहरू लहरै राखिएका छन्।
सोमबारसम्म सञ्चालन हुने विशेष महाधिवेशनको उद्घाटन आज मध्याह्न १२ बजे गर्ने तयारी गरिएको कांग्रेसले जनाएको छ। यसअघि काठमाडौं उपत्यकाका विभिन्न छ स्थानबाट जुलुस निकालेर महाधिवेशन स्थलतर्फ आउने कार्यक्रम तय गरिएको छ।
विशेष महाधिवेशनको उद्घाटन कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा हुने तय भएको छ। उद्घाटन सत्रपछि विशेष महाधिवेशनको बन्द सत्र सुरु हुनेछ। बन्द सत्रको सभापतित्व भने महाधिवेशन प्रतिनिधिहरूमध्ये जेष्ठ सदस्यले गर्ने व्यवस्था गरिएको छ।
























प्रतिक्रिया