काठमाडौैं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ ६४ वटा राजनीतिक दलले मात्रै निर्वाचन आयोगमा उम्मेदवारको बन्दसूची बुझाएका छन्।
निर्वाचन आयोगका अनुसार आयोगमा दर्ता भएका एक सय दलमध्ये सोमबार र मंगलबारसम्म जम्मा ६४ दलले समानुपातिक उम्मेदवारको बन्दसूची पेश गरेका हुन्। तीमध्ये २२ वटा दलले समानुपातिकतर्फ उपलब्ध सबै सिटका लागि उम्मेदवारी दर्ता गराएका छन् भने बाँकी दलले कम्तीमा १० जनादेखि बढीमा १०१ जनासम्मको बन्दसूची बुझाएका छन्।
आयोगको विवरणअनुसार समानुपातिक प्रणालीतर्फ ६४ दलबाट कुल तीन हजार चार सय २४ जनाको उम्मेदवारी परेको छ। यस निर्वाचनमा ६४ दलले ५८ वटा चुनाव चिह्न प्रयोग गर्दै प्रतिस्पर्धा गर्नेछन्। तीमध्ये ५४ दलले आ–आफ्नै चुनाव चिह्नबाट निर्वाचन लड्नेछन् भने १० वटा दलले चारवटा साझा चुनाव चिह्नमार्फत चुनावी प्रतिस्पर्धा गर्नेछन्।
समानुपातिक सूची बुझाउने दलहरूमा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राप्रपा, नेपाल श्रम संस्कृति पार्टी, बहुजन शक्ति पार्टी, नेकपा संयुक्त, नेकपा, नेपाली जनता दल, जय मातृभूमि पार्टी, नेकपा माओवादी, सार्वभौम पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनता दल, संयुक्त नागरिक पार्टी, राष्ट्र निर्माण पार्टी, राष्ट्रिय जनता पार्टी, नेपाल मातृभूमि पार्टी, मितेरी पार्टी, जनअधिकार पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, संसदीय लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, जनमत पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, कांग्रेस बीपी लगायतका दल रहेका छन्।
नेपालको संविधानअनुसार प्रतिनिधिसभा २७५ सदस्यीय हुन्छ। जसमध्ये समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना र प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना सदस्य निर्वाचित हुने व्यवस्था छ।























प्रतिक्रिया