काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबार २० अर्ब रुपैयाँ बराबरको निक्षेप खिच्ने भएको छ। वित्तीय प्रणालीमा अधिक तरलता कायमै रहेपछि केन्द्रीय बैंकले ८४ दिन अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत बोलकबोल गरी निक्षेप खिच्न लागेको हो।
हाल बैंकिङ प्रणालीमा कुल निक्षेप ७५ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन तथा ब्याजदर सन्तुलन कायम गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत नियमित रूपमा तरलता खिच्दै आएको छ।
आज हुने बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा सहभागी संस्थाले बोल गरेको ब्याजदरका आधारमा सबैभन्दा कम दर बोल गर्ने प्रस्तावलाई प्राथमिकता दिँदै आह्वान गरिएको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ।
निक्षेप संकलनका लागि आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल हुनेछ। ब्याजदर बोलकबोल प्रक्रियाबाट नै निर्धारण गरिनेछ। आज संकलन हुने निक्षेपको सावाँ र ब्याज आगामी २०८२ चैत १ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ।
बोल गर्न सकिने न्यूनतम रकम १० करोड रुपैयाँ तोकिएको छ भने अधिकतम रकम कुल आह्वान रकमसम्म ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी निर्धारण गरिएको छ।
























प्रतिक्रिया