स्वास्थ्य र जीवनशैली

नेपालले योग र ध्यानमा विश्वकै नेतृत्व लिनुपर्छ



पछिल्लो समय विश्वभर योग, ध्यान र साधनाप्रति मानिसहरुको लगाव बढेको पाइन्छ । जीवनमा सकारात्मक परिवर्तन ल्याउन ध्यानको अझ ठूलो महत्व छ । नेपालमा ध्यानप्रतिको आकर्षण बढ्दै गएको छ । यसै सिलसिलामा जीवन विज्ञानका संस्थापक मध्येका एक एलपी भानु शर्मासँग अमेरिका जानु भन्दा पहिले गरेको कुराकानी ।

ध्यान के हो ? किन गर्ने ? योग, ध्यान र साधनामा के भिन्नता छ ?
प्रत्येक मनुष्यभित्र एउटा विराट ऊर्जाको केन्द्र हुन्छ भन्ने कुरामा म गहिरो रूपमा विश्वस्त छु । दुःखको कुरा के छ भने अधिकांश मानिसहरू त्यो ऊर्जाको अनुभूति नगरी नै जीवन बिताएर संसारबाट विदा हुन्छन् । त्यो केन्द्र कुनै बाहिरी वस्तु होइन, त्यो त हामी सबैको अन्तरमनमै अवस्थित छ ।
त्यो ऊर्जाको केन्द्रका दुई मुख्य आयाम छन् । एक, भित्रतिर रहेको गहन शान्ति, जसलाई कसैले शून्यता भन्छन् । अर्को, बाहिरतिर प्रकट हुने शक्ति—ऊर्जा, शान्ति र शक्ति मिलेर नै मनुष्य पूर्ण बनेको छ। यो कुनै कल्पनाको कुरा होइन, यो प्रत्येक मानिसभित्र विद्यमान यथार्थ हो । अब प्रश्न उठ्छ त्यो ऊर्जालाई कसरी चिन्ने ? मानव इतिहासमा भएका अनेक खोज र अनुभवहरूबाट एउटा सरल र वैज्ञानिक विधि भेटिएको छ, जसलाई ध्यान भनिन्छ । ध्यान कुनै धर्म, जात, लिङ्ग, देश वा उमेरसँग बाँधिएको छैन । यो सबै सीमाभन्दा परको अनुभूति हो, जुन हरेक मनुष्यका लागि समान रूपमा उपलब्ध छ ।
ध्यान स्वयं एक प्रक्रिया हो, त्यो प्रक्रियाबाट प्राप्त हुने अनुभूतिलाई योग भनिन्छ । तर समयसँगै योगलाई केवल शारीरिक व्यायामका रूपमा बुझ्ने प्रवृत्ति बढेको छ । वास्तवमा आसन भनेको शरीरलाई स्थिर बनाउने साधन हो । शरीर स्थिर भएन भने मन पनि स्थिर हुँदैन । ठीक त्यस्तै, हल्लिरहेको पानीमा प्रतिबिम्ब नदेखिएजस्तै अस्थिर शरीर र मनमा आत्मचिन्तन सम्भव हुँदैन ।

योगासनले शरीरलाई स्थिर बनाउँछ, प्राणायामले मनलाई शान्त पार्छ । अनि ध्यानले त्यो स्थिरताभित्र लुकेको विराट शान्ति र शक्तिको अनुभूति गराउँछ । अब भन्नुस आफूभित्रको शान्ति र शक्ति कसलाई चाहिँदैन र ? यही त जीवनको सार हो ।

ध्यानप्रति नेपालीहरुको लगाव कस्तो छ ? विदेशीहरु भन्दा नेपालीहरुमा ध्यानप्रति बढी आकर्षण भएको हो ?
नेपालमा पछिल्ला वर्षहरूमा ध्यानप्रतिको झुकाव र लगाव उल्लेखनीय रूपमा बढेको छ । तर प्रारम्भका दिनहरू सम्झँदा, ध्यानप्रति त्यति धेरै आकर्षण थिएन । आज आएर अवस्था पूर्ण रूपमा फेरिएको छ । अहिले अत्यन्त ठूलो संख्यामा मानिसहरू ध्यानतर्फ आकृष्ट भइरहेका छन, यसको पछाडि गहिरो कारण छ ।
आजको विश्वको यथार्थ के हो भने पृथ्वीको एकतिहाइभन्दा बढी जनसंख्या चरम तनावमा बाँचिरहेको छ । मानसिक आक्रान्तता, असन्तुलन र अशान्ति विश्वव्यापी समस्या बनेका छन् । झगडा, कलह, वैमनस्य, ‘मेरो–तेरो’ को भावना, यहाँसम्म कि युद्धहरू पनि अन्ततः मानिसको मनमै जन्मिन्छन् । युद्ध सिमानामा लडिएला, तर त्यसको बीउ मनमा रोपिन्छ । त्यस्तै, शान्तिका सम्झौताहरू राजधानीमा हस्ताक्षर गरिए पनि शान्तिको वास्तविक प्रेरणा र चाहना पनि मनबाटै उत्पन्न हुन्छ, त्यसैले म भन्छु—मन नै केन्द्र हो ।

आज संसारलाई यस्तो शान्ति चाहिएको छ, जहाँ म शान्त हुनका लागि तपाईंलाई अशान्त बनाउन नपरोस र यस्तो शक्ति चाहिएको छ, जहाँ म शक्तिशाली हुन अरूलाई कमजोर बनाउन नपरोस् । किनकि शान्ति र शक्ति दुवै प्रत्येक मनुष्यभित्र निहित छन् । कोही पनि त्यसभन्दा वञ्चित छैन, यही कारणले ध्यान आज विश्वका लागि अत्यन्त सान्दर्भिक बनेको छ ।

ध्यान र नेपाल किन अन्तर सम्बन्धित छन् ?
अहिलेको तथ्याङ्क हेर्ने हो भने, पृथ्वीमा सात जनामध्ये कम्तीमा एक जनाले हप्तामा एकपटक ध्यान गर्ने गरेको पाइन्छ । यो आफैंमा ठूलो चेतनाको संकेत हो । हामी यस चेतनालाई नेपालको मौलिक विज्ञानसँग जोडेर अघि बढाइरहेका छौँ किनकि नेपाल हिमवतखण्ड हो। जसरी शरीरमा शिरको स्थान सर्वोच्च हुन्छ, त्यसरी नै पृथ्वीको शिर हिमाल हो । चिन्तन, दर्शन र विज्ञान जन्मिनुपर्ने भूमि यही हो । हजारौँ वर्षदेखि विकसित ध्यान, योग, समाधि, आयुर्वेद, प्राकृतिक चिकित्सा र सांस्कृतिक परम्पराहरूको सार बुझेर मानव कल्याणमा प्रयोग गर्नु नै जीवन विज्ञानको लक्ष्य हो । यही भावनासहित हामी नेपाललाई विश्वसामु प्रस्तुत गरिरहेका छौँ । हामी विश्वतिर जान खोजिरहेका छैनौँ, नेपाल आफैं विश्वमा गइरहेको छ ।

ध्यानका पनि प्रकार र विधिहरु होलान्, सामान्य मानिसले गर्ने ध्यान कुन हो ? वास्तवमा ध्यानले मानव जीवनमा त्यस्तो के परिवर्तन ल्याउँछ ?
ध्यानका विधिहरू अनेक छन्, किनकि मनुष्यभित्र रहेको विराट क्षेत्र र विराट शक्तिलाई चिन्ने बाटो एउटामात्र हुँदैन । त्यससम्म पुग्ने मार्गहरू फरक–फरक हुन सक्छन् । सामान्यतया ध्यानलाई दुई प्रकारबाट बुझ्न सकिन्छ । एक प्रकारको ध्यानले मानिसलाई शान्त त बनाउँछ, तर उसलाई एकोहोरो पनि बनाइदिन्छ । त्यस्तो ध्यानले व्यक्तिलाई संसारबाट टाढा जान प्रेरित गर्छ । घर परिवार, सामाजिक सम्बन्ध र जिम्मेवारीप्रति उदासीन बनाउने सम्भावना हुन्छ । यस्ता ध्यान प्रणालीहरू पनि अस्तित्वमा छन् ।

तर जीवन विज्ञानको अभ्यासमा हामीले प्रयोग गर्ने ध्यान प्रणाली त्यसभन्दा भिन्न छ । यसलाई हामी ‘ऊर्जा ध्यान’ भन्छौँ । ऊर्जा ध्यानको मूल विशेषता के हो भने, यसले मानिसलाई जिम्मेवारीबाट भाग्न सिकाउँदैन । बरु, उसलाई आफ्नो घर परिवार, समाज र राष्ट्रप्रतिको दायित्व अझ गहिरो रूपमा बोध गराउँछ । यो ध्यानले संसार त्याग्ने होइन, यही संसारलाई अझ सुन्दर र सन्तुलित बनाउने चेतना जागृत गराउँछ ।

मैले यसलाई विशिष्ट प्रणाली भनेको कारण पनि यही हो, अधिकांश ध्यान विधिहरू भित्री शान्तिमा सीमित हुन्छन् । तर ऊर्जा ध्यानले शान्तिसँगै शक्ति ऊर्जा पनि जागृत गर्छ । जब शान्ति र शक्ति सँगसँगै विकसित हुन्छन् । तब व्यक्ति आत्मकेन्द्रित होइन, विश्वकेन्द्रित बन्छ । यदि यस्तो ध्यान प्रणाली मनुष्यको हातमा व्यापक रूपमा पुग्यो भने, यसको प्रभाव केवल व्यक्तिसम्म सीमित रहने छैन । यसले समाज, राष्ट्र हुँदै समग्र पृथ्वी ग्रहकै हित गर्नेछ भन्ने मेरो दृढ विश्वास छ ।

यहाँहरूले वर्षौंदेखि चलाउँदै आएको ध्यान अभियानको प्रभाव चाहीं कस्तो छ ?
मैले पहिले पनि भनेको छु, हिंसा बाहिर जन्मिँदैन, हिंसा मानिसको मनमै जन्मिन्छ । तुलना, इश्र्या, लोभ र द्वेषजस्ता सबै विकारहरूको स्रोत मन नै हो । जब मानिसले आफु भित्रको क्षमता र शक्ति चिन्दैन, तब ऊ अरूसँग तुलना गर्छ, प्रतिस्पर्धामा अल्झिन्छ र अरूलाई सानो बनाएर मात्र आफू ठूलो बन्न सकिन्छ भन्ने भ्रममा बाँच्न थाल्छ । यो सोचाइ हाम्रो सभ्यताको होइन, यो त पश्चिमी प्रतिस्पर्धात्मक प्रणालीको उपज हो । हाम्रो मौलिक परम्परा त सहकार्य, सम्मान र सबैलाई आफ्नै ठान्ने प्रणाली हो ।

यही कारण ध्यान आज अत्यन्त सान्दर्भिक बनेको छ । एकपटक मानिसले ध्यानको अभ्यास गरेपछि उसको मनभित्र रहेको हिंसा स्वतः घट्न थाल्छ । कोही पनि व्यक्ति जन्मिँदा हिंसालु हुँदैन । के तपाईंले कहिल्यै बच्चाले स्वभावतः अरूलाई घृणा गरेको देख्नुभएको छ ? त्यो हामीले सिकाउने हो, समाज, शिक्षा र डरले भरिएका सन्देशहरूले मानिसको मनलाई भड्काउँछन् । यसरी विक्षिप्त बनेको मनको सबैभन्दा प्रभावकारी औषधि ध्यान नै हो ।

प्रकाशित : ६ पुस २०८२, आइतबार, ,