breaking news

मधेसका मुख्यमन्त्री नियुक्ति विवादमा सुनुवाइ आज



काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले तय गरेको अन्तरिम आदेशसम्बन्धी छलफल सोमबारका लागि सारिएको छ।

प्रदेशसभाका ७४ सदस्यहरूको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले दायर गरेको रिटमा आइतबार सुनुवाइ गर्ने भनिए पनि आवश्यक जवाफ नआएपछि छलफलको मिति सारिएको हो।

कात्तिक ३० गते न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको इजलासले प्रदेश प्रमुखको जवाफ महान्यायाधिवक्तामार्फत पेस गराइनुपर्ने आदेशको पालना नभएको भन्दै सोमबारका लागि नयाँ पेसी तोकेको हो। न्यायाधीशद्वयले मधेस प्रदेश प्रमुखको जवाफ सहित छलफलमा उपस्थित हुन महान्यायाधिवक्ता कार्यालयलाई निर्देशन दिएका छन्।

यसअघि कांग्रेस नेता यादवले संविधानको धारा १६८(२) अनुसार नियुक्त मुख्यमन्त्रीले विश्वासको मत नलिई राजीनामा दिएको अवस्थामा पुनः त्यही धाराअनुसार आह्वान हुनुपर्ने दाबी गर्दै १६८(३) अन्तर्गत नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवको नियुक्तिविरुद्ध दुईतिहाइ सांसदको हस्ताक्षरसहित रिट दायर गरेका थिए।

कात्तिक २५ गते दर्ता भएको रिटमा २६ गते न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले दुवै पक्षलाई डाकेर आइतबार अन्तरिम आदेश छलफल हुने निर्णय गरेको थियो। तर प्रदेश प्रमुखको जवाफ नआएपछि सोमबार पुनः पेसी तोकिएको हो।

यसअघि सार्वजनिक सरोकारको अर्को रिटमा होटेलमै शपथ ग्रहण गरेका मुख्यमन्त्री सरोजकुमार यादवले दीर्घकालीन महत्वका निर्णय नगर्न सर्वोच्चले अन्तरिम आदेश जारी गरिसकेको छ। उनी कामचलाउ अवस्थामा रहेकाले सोमबार ७४ सांसदहरूको रिटमा अन्तरिम आदेश जारी भए नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्न सक्ने देखिन्छ।

प्रकाशित : १ मंसिर २०८२, सोमबार, ,