breaking news

वाम एकता नभए राष्ट्रिय राजनीति संकट : माओवादी केन्द्र



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले वामपन्थी शक्तिहरूबीच एकता हुन नसके राष्ट्रिय राजनीति अस्थिर र संकटग्रस्त बन्न सक्ने निष्कर्ष निकालेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकाल्दै वाम एकता प्रक्रिया चाँडो टुंग्याउन जोड दिएको छ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका नेता अग्नि प्रसाद सापकोटाले पार्टी एकताका वैचारिक, राजनीतिक र सैद्धान्तिक पक्षहरूमा सहमति भइसकेको बताए। उनका अनुसार अब छलफल प्राविधिक र संगठनात्मक व्यवस्थापनमा केन्द्रित भएको छ।

सापकोटाले माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, प्रेमबहादुर सिंह नेतृत्वको पार्टी, राजु कार्की नेतृत्वको पार्टी, सुवास काफ्ले समूहलगायतबीच एकता हुने स्पष्ट पारे। “अब ढिलाइ गर्न मिल्दैन, ढिलो भयो भने राष्ट्रिय राजनीतिमा हाम्रो पहलकदमी कमजोर हुन सक्छ,” सापकोटाले भने।

देश झन् अराजकता र संकटतर्फ गइरहेको उल्लेख गर्दै उनले मिल्न सक्ने सबै वामपन्थी शक्तिहरूलाई एउटै मोर्चामा ल्याउन पहल आवश्यक रहेको बताए। “यदि वाम एकता अगाडि बढेन भने आगामी निर्वाचनसमेत प्रभावित हुनसक्छ,” उनले चेतावनी दिए।

त्यस्तै, सापकोटाले नेकपा (माओवादी केन्द्र) नफुट्ने दाबी गर्दै पार्टी नेता जनार्दन शर्माको गतिविधि अराजनीतिक र अलोकतान्त्रिक रहेको आरोप पनि लगाए।

प्रकाशित : १६ कार्तिक २०८२, आइतबार, ,